काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य करेक्सन देखिएको छ। दशैँ बिदाअघिदेखि निरन्तर बढिरहेको बजारमा अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेपछि नेप्सेमा गिरावट आएको हो।
शुक्रबार नेप्से परिसूचक ५.४५ अंकले घटेर २ हजार ६९०.१५ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.५४ अंक, फ्लोट इण्डेक्स ०.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंकले घटेका छन्।
नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन बिहीबार ८ अर्ब ५७ करोड रुपैयाँबराबरको सेयर कारोबार भएकोमा शुक्रबार ३४८ स्टकको ७४ हजार ५३ पटकको कारोबारमा ८ अर्ब ८९ करोड १५ लाख ७४ हजार रुपैयाँबराबरको २ करोड २८ लाख ६२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
बेनी हाइड्रोपावरमा सकारात्मक सर्किट
यस दिन बेनी हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयरमूल्य ९२ रुपैयाँ ५० पैसाले बढेर प्रतिकित्ता ७०९ रुपैयाँ ७० पैसा पुगेको छ।
त्यस्तै, स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १२ प्रतिशतभन्दा बढी बढेको छ भने लुम्बिनी विकास बैंकको सेयरमूल्य ७ प्रतिशतले वृद्धि भएको छ। अर्कोतर्फ मेन्छियाम हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ४.०८ प्रतिशत घटेको छ।
लुम्बिनी विकास बैंकको सर्वाधिक कारोबार
कारोबार रकमका आधारमा लुम्बिनी विकास बैंक शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३८ करोड ४८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, शिवम् सिमेन्ट्सको ३० करोड रुपैयाँभन्दा बढी र घलेम्दी हाइड्रोपावरको करिब २८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।
१३ मध्ये आठ उपसमूह घटे
यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ।
विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.६१ प्रतिशत बढेको छ। त्यस्तै, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचकमा सामान्य वृद्धि देखिएको छ।
बजारमा सामान्य गिरावट आए पनि कारोबार रकम बढ्नुले लगानीकर्ताको सक्रियता कायम रहेको देखाएको छ।




.gif)





