काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ११७ कम्पनीका ७१ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी मूल्यका प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आवेदन प्रक्रियामा रहेका छन्। बोर्डले पहिलोपटक आवेदनको प्रक्रियागत अवस्थाका आधारमा आईपीओ आवेदनलाई छ चरणमा वर्गीकरण गरेको छ।
बोर्डको अद्यावधिक विवरणअनुसार पाइपलाइनमा रहेका कम्पनीहरूले कुल ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्काशनका लागि आवेदन दिएका छन्। तीमध्ये दुई कम्पनी अन्तिम समीक्षा चरणमा पुगेका छन् भने १० कम्पनीको आवेदन पाँचौँ चरणमा समीक्षा भइरहेको छ।
अन्तिम समीक्षामा दुई कम्पनी
सेबोनको विवरणअनुसार आईपीओ निष्काशन प्रक्रियाको छैटौँ तथा अन्तिम समीक्षा चरणमा आशुतोष इनर्जी लिमिटेड र कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड पुगेका छन्।
आशुतोष इनर्जीले १२ लाख कित्ता र कान्तिपुर फर्मास्युटिकल्स ल्याबले १७ लाख कित्ता गरी कुल २९ लाख कित्ता सेयर निष्काशनका लागि आवेदन दिएका छन्। आशुतोष इनर्जीको बिक्री प्रबन्धक एनएमबी क्यापिटल र कान्तिपुर फर्मास्युटिकल्स ल्याबको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेका छन्।
यद्यपि, अन्तिम समीक्षा चरणमा पुग्दैमा आईपीओ निष्काशनको स्वीकृति प्राप्त भएको मानिँदैन। आवश्यक कागजात, वित्तीय विवरण तथा नियामकीय मापदण्डको परीक्षण पूरा भएपछि मात्रै बोर्डले स्वीकृतिसम्बन्धी निर्णय गर्छ।
पाँचौँ चरणमा १० कम्पनी
आईपीओ प्रक्रियाको पाँचौँ चरणमा १० कम्पनीका आवेदनको समीक्षा भइरहेको छ। यस चरणमा एनसी एग्रोटेक इन्डष्ट्रिज, सानिमा हाइड्रोपावर, आईएमई लिमिटेड र सिउरी न्यादी पावरलगायत कम्पनी छन्।
यी कम्पनीले कुल ५ करोड १९ लाख ४ हजार ७०१ कित्ता सेयर निष्काशनका लागि आवेदन दिएका छन्। बोर्डले उनीहरूले पेस गरेका जवाफ तथा परिमार्जित कागजातको समीक्षा गरिरहेको छ।
त्यस्तै, चौथो चरणमा १९ कम्पनी रहेका छन्। बोर्डले पठाएको कैफियतको जवाफ प्राप्त गरेका यी कम्पनीले कुल ११ करोड ९८ लाख ७८ हजार ५९५ कित्ता सेयर निष्काशनका लागि आवेदन दिएका छन्। यस चरणमा डिश मिडिया नेटवर्क, जगदम्बा स्टिल्स, सौर्य सिमेन्ट र ह्यास हस्पिटललगायत कम्पनी छन्।
तेस्रो चरणमा भने बोर्डले आवश्यक सुधार वा थप विवरण माग गर्दै कैफियत पठाएका चार कम्पनी छन्। महाशक्ति सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, ज्यास्मिन पेन्ट्स र लक्ष्मी टेक्नोप्लास्ट यस चरणमा रहेका छन्।
प्रारम्भिक चरणमा ८२ कम्पनी
आईपीओ आवेदन प्रक्रियाको पहिलो चरणमा सबैभन्दा धेरै ७६ कम्पनी रहेका छन्। यस चरणमा मारुती सिमेन्ट, अम्बे स्टिल्स र रिद्धिसिद्धि सिमेन्टलगायत कम्पनी छन्। उनीहरूले कुल २८ करोड ८ लाख २२ हजार ३१३ कित्ता सेयर निष्काशनका लागि आवेदन दिएका छन्।
त्यस्तै, दोस्रो चरणमा छ कम्पनीका आवेदनको प्रारम्भिक समीक्षा भइरहेको छ। यस सूचीमा आकामा होटल र अपेक्स मकालु हाइड्रोपावरलगायत कम्पनी छन्।
यसरी पहिलो र दोस्रो चरणमा मात्रै ८२ कम्पनीका आवेदन रहेका छन्। यसले अधिकांश कम्पनीको आईपीओ निष्काशन प्रक्रिया प्रारम्भिक अवस्थामै रहेको देखाउँछ।
मापदण्ड पूरा भएपछि मात्रै आईपीओ स्वीकृति
सेबोनले कम्पनीहरूले पेस गरेका कागजात, वित्तीय विवरण, विवरणपत्र तथा प्रचलित कानुनी र नियामकीय मापदण्ड पूरा भए–नभएको परीक्षण गरेर मात्रै आईपीओ निष्काशनको स्वीकृति दिने व्यवस्था छ।
बोर्डले कम्पनीहरूको प्रतिसेयर नेटवर्थसमेत परीक्षण गरिरहेको छ। जलविद्युत् कम्पनीका हकमा व्यावसायिक उत्पादन सुरु भएको मिति अर्थात् कमर्सियल अपरेसन डेट (सीओडी) समेत परीक्षण गरिनेछ।
आईपीओ आवेदनलाई छ चरणमा वर्गीकरण गर्दा लगानीकर्ताले कम्पनीहरूको आवेदन कुन प्रक्रियागत अवस्थामा छ भन्ने जानकारी पाउन सहज हुने देखिन्छ। तर आईपीओ निष्काशनको स्वीकृति र त्यसको समय भने सम्बन्धित कम्पनीले आवश्यक मापदण्ड पूरा गरेको अवस्था तथा बोर्डको निर्णयमा निर्भर रहनेछ।




.gif)





