काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१.५४ अंकले बढेर २६९५.६० विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन बुधबार पनि बढेर बन्द भएको बजारले बिहीबारको कारोबारमा समेत वृद्धि कायम राखेको हो।
यस दिन सेन्सेटिभ इण्डेक्स ६.४१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स २.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२५ अंकले वृद्धि भएको छ।
नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। बुधबार ७ अर्ब ४५ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बिहीबार ३५० वटा कम्पनीका ६९ हजार ६१९ पटकको कारोबारमा २ करोड ३२ लाख ५८ हजार कित्ता शेयर किनबेच भएको छ। कुल कारोबार रकम ८ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी पुगेको छ।
यो कारोबार रकम करिब साढे छ महिनायताकै उच्च हो। यसअघि गत वैशाख ३ गते नेप्सेमा करिब साढे ९ अर्ब रुपैयाँको शेयर कारोबार भएको थियो।
यस दिन बेनी हाइड्रोपावरको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य ८० रुपैयाँ ५० पैसाले बढेर प्रतिकित्ता ६१७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको हो। त्यस्तै, सोपान फर्मास्यूटिकल्सको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी र नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य साढे ५ प्रतिशतले बढेको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य पनि ३.६५ प्रतिशतले वृद्धि भएको छ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३५ करोड ६१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, सिद्धार्थ बैंकको करिब साढे २५ करोड रुपैयाँ र लक्ष्मी सनराइज बैंकको २४ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।
बिहीबार कारोबारमा आएका सबै १३ उपसमूहका परिसूचक बढेका छन्। अन्य उपसमूह सर्वाधिक २.४५ प्रतिशतले बढेको छ। बैंकिङ तथा होटल र पर्यटन उपसमूहका परिसूचक २ प्रतिशतभन्दा बढीले वृद्धि भएका छन् भने विकास बैंक र वित्त उपसमूहका परिसूचक १ प्रतिशतभन्दा बढीले बढेका छन्।




.gif)





