ताप्लेजुङ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ताप्लेजुङ शाखाले दुई साताको अवधिमा २७ लाख ३५ हजार ३७० रुपैयाँ बराबरको चिनी बिक्री गरेको छ । शाखाले असोज १४ देखि ३० गतेसम्म २४ हजार ८६७ किलोग्राम चिनी बिक्री गरेको हो ।
शाखा प्रमुख प्रकाश तिम्सिनाका अनुसार प्रतिकिलोग्राम ११० रुपैयाँका दरले चिनी बिक्री भइरहेको छ । बजारमा चिनीको मूल्य प्रतिकिलोग्राम १२५ देखि १४० रुपैयाँसम्म रहेकाले उपभोक्ता कम्पनीको सहुलियत मूल्यप्रति आकर्षित भएका छन् । शाखा स्थापना भएको साढे चार दशकपछि पहिलो पटक चिनी बिक्री सुरु गरिएको हो ।
यसैगरी, शाखाले असोज २५ गतेदेखि मसुरो दाल बिक्री गर्न थालेको छ । असोज ३० गतेसम्म छ दिनको अवधिमा दुई हजार १६३ किलोग्राम दाल बिक्री हुँदा तीन लाख १३ हजार ५०५ रुपैयाँ आम्दानी भएको सूचना अधिकारी जलान्धरप्रसाद यादवले जानकारी दिए ।
खाद्य कम्पनीले चामलसँगै दाल र चिनीको बिक्रीसमेत विस्तार गरेको छ । आगामी दिनमा खानेतेल पनि बिक्री गर्ने योजना रहेको शाखाले जनाएको छ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा शाखाले ७२ लाख ५५ हजार ८७५ रुपैयाँ बराबरको चामल बिक्री गरेको छ । उक्त अवधिमा ५७ हजार २५० किलोग्राम स्टिम जिरा मसिनो र २४ हजार ७०० किलोग्राम सोना मन्सुली चामल बिक्री भएको शाखाले जनाएको छ ।
सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यसहित खाद्य कम्पनीले बिक्री सामग्री विस्तार गरेपछि स्थानीय उपभोक्तालाई बजार मूल्यभन्दा कममा दैनिक उपभोग्य वस्तु खरिद गर्ने अवसर मिलेको छ ।




.gif)





.gif)
