काठमाडौं । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालमा पार्किन्सन रोग, मुभमेन्ट डिसअर्डर, छारे रोग तथा मेरुदण्ड सम्बन्धी समस्याको उपचारका लागि विशेष क्लिनिक सञ्चालन हुने भएको छ।
वीर अस्पतालको न्युरो सर्जरी विभाग र अमेरिकाको भर्जिनिया राज्यस्थित कारिलियन हस्पिटलको सहकार्यमा आगामी कात्तिक १० देखि १२ गतेसम्म विशेष क्लिनिक सञ्चालन गर्न लागिएको हो। अस्पतालका अनुसार परीक्षणपछि शल्यक्रिया आवश्यक देखिएका बिरामीका लागि कात्तिक १६ देखि २० गतेसम्म शल्यक्रिया गर्ने सम्भावित मिति तय गरिएको छ।
अस्पतालले जारी गरेको सूचनाअनुसार यो तेस्रो विशेष क्लिनिक तथा शल्यक्रिया कार्यक्रम हो। क्लिनिकमा मुभमेन्ट डिसअर्डर, पार्किन्सन रोग, डिस्टोनिया, औषधिबाट नियन्त्रणमा आउन नसकेको छारे रोग तथा मेरुदण्ड सम्बन्धी समस्या भएका बिरामीको परीक्षण र उपचार मूल्यांकन गरिनेछ।
कार्यक्रम अन्तर्गत डीप ब्रेन स्टिमुलेसन (डीबीएस), स्पाइनल कर्ड स्टिमुलेसन तथा भेगस नर्भ स्टिमुलेसन जस्ता विशेष उपचार विधिका लागि बिरामीको अवस्था परीक्षण गरिने अस्पतालले जनाएको छ। परीक्षणको नतिजाका आधारमा उपयुक्त उपचार विधि छनोट गर्नुका साथै शल्यक्रिया आवश्यक भए–नभएको निर्णय गरिनेछ।
पार्किन्सन रोग तथा अन्य मुभमेन्ट डिसअर्डरका कारण शरीरको चाल र मांसपेशी नियन्त्रणमा समस्या भएका बिरामीलाई डीप ब्रेन स्टिमुलेसनजस्ता उपचार विधिले सहयोग पुर्याउन सक्छन्। त्यस्तै, औषधिले नियन्त्रण गर्न नसकिएको छारे रोग तथा मेरुदण्ड सम्बन्धी केही समस्यामा पनि बिरामीको अवस्था र विशेषज्ञको मूल्यांकनका आधारमा विशेष उपचार विधि अपनाउन सकिन्छ।
वीर अस्पतालले सम्बन्धित स्वास्थ्य समस्या भएका बिरामीलाई समयमै न्युरो सर्जरी विभागमा सम्पर्क गरी अग्रिम नाम दर्ता गराउन अनुरोध गरेको छ।
विशेष क्लिनिकबाट जटिल स्नायु तथा मेरुदण्ड सम्बन्धी समस्या भएका बिरामीले विशेषज्ञबाट परीक्षण, उपचारसम्बन्धी परामर्श र आवश्यकताअनुसार शल्यक्रियाको अवसर प्राप्त गर्ने अपेक्षा गरिएको छ।




.gif)





