अर्थसमाचार, मेलबर्न, अस्ट्रेलिया । नेपाली–अस्ट्रेलियन चिकित्सक तथा जनस्वास्थ्य अभियन्ता डा.समृद्धि अधिकारी भोटेकोशी क्षेत्रमा आएको आकस्मिक बाढीबाट प्रभावित समुदायलाई चिकित्सा सेवा तथा मानवीय राहत उपलब्ध गराउन आगामी अक्टोबरमा नेपाल आउने तयारीमा रहेको छिन।
डा.अधिकारीले आफ्नो पहल ‘मिसन नेपाल’ मार्फत विपद्बाट प्रभावित तथा दुर्गम क्षेत्रका समुदायलाई आवश्यक स्वास्थ्य सेवा, मानवीय सहायता र भावनात्मक सहयोग पुर्याउने लक्ष्य राखेको छिन।
अस्ट्रेलियाका संवाददाता तथा ‘फलाङ फुड डिक्सनरी’का लेखक शिव न्यौपानेसँगको कुराकानीमा डा.अधिकारीले आफ्नो परिवारको पुर्ख्यौली मातृभूमि नेपालसँगको सम्बन्धलाई थप बलियो बनाउँदै आवश्यकतामा रहेका समुदायको स्वास्थ्य र कल्याणका लागि योगदान गर्नु आफ्नो प्राथमिकता रहेको बताईन ।
तीन प्राथमिकतामा केन्द्रित अभियान मिसन नेपालले विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार, स्थानीय संस्थासँग सहकार्य र समुदायको पुनर्निर्माणलाई मुख्य प्राथमिकतामा राखेको छ। अभियानले तत्काल आवश्यक चिकित्सा सेवा तथा मानवीय सहायता उपलब्ध गराउने, स्थानीय साझेदारसँग मिलेर पुनर्निर्माणमा सहयोग गर्ने र समुदायको विपद् सामना गर्न सक्ने क्षमता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।
यसका लागि स्थानीय मिसन संस्थाहरू, चिकित्सकीय टोली, अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, जिल्ला अस्पताल, घुम्ती स्वास्थ्य सेवा इकाइ तथा दुर्गम क्षेत्रका स्वास्थ्य चौकीसँग समन्वय गर्ने योजना रहेको छ।
विभिन्न क्षेत्रमा चिकित्सकीय अनुभव डा. अधिकारीसँग सामान्य तथा एकीकृत चिकित्सा, छालाको क्यान्सर सम्बन्धी उपचार, यौन स्वास्थ्य, आकस्मिक तथा गम्भीर स्वास्थ्य सेवा, शरणार्थी तथा शरण खोज्ने व्यक्तिहरूको स्वास्थ्य सेवा र सुधारगृहमा स्वास्थ्य सेवासहित विभिन्न क्षेत्रमा काम गरेको अनुभव छ। दुर्गम क्षेत्रमा सञ्चालन हुने चिकित्सा अभियानमा समेत उनको अनुभव रहेको छ।
अस्ट्रेलियामा हासिल गरेको व्यावसायिक अनुभव र जोखिममा रहेका समुदायको सेवाप्रतिको प्रतिबद्धतालाई नेपालमा सञ्चालन हुने यस अभियानको आधारका रूपमा लिइएको छ।
उपचार सँगै प्रभावितका कथा अभिलेखीकरण गरिने मिसन नेपालले चिकित्सा उपचारमा मात्र सीमित नभई विपद्बाट प्रभावित व्यक्तिहरूका अनुभव, सङ्घर्ष र जीवनकथा समेत अभिलेखीकरण गर्ने लक्ष्य राखेको छ। सङ्कटका समयमा करुणा, आस्था, एकता र सामूहिक प्रयासको महत्त्व उजागर गर्नु पनि अभियानको उद्देश्य रहेको छ।
अभियानले प्रभावित समुदायको वास्तविक आवश्यकता अनुसार सहायता पुर्याउन स्थानीय संस्था तथा सामुदायिक अगुवाहरूसँग सहकार्य गर्न इच्छुक व्यक्ति र संस्थालाई आग्रह गरेको छ।
सहयोगका लागि आह्वान मिसन नेपालले अभियानलाई प्रभावकारी बनाउन आर्थिक सहयोग, इमेलमार्फत नियमित जानकारी प्राप्त गर्न सदस्यता, सामुदायिक सहभागिता तथा प्रार्थनामार्फत साथ दिन इच्छुक व्यक्ति र संस्थालाई आह्वान गरेको छ।
डा.अधिकारीको पहलले विपद्बाट प्रभावित समुदायलाई स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै कठिन परिस्थितिमा रहेका व्यक्तिहरूको आत्मसम्मान, आशा र भावनात्मक सुस्वास्थ्य पुनःस्थापनामा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
मिसन नेपालको मूल उद्देश्य उपचार उपलब्ध गराउनुमा मात्र सीमित नभई सङ्कटमा परेका समुदायसँग मानवीय सम्बन्ध स्थापित गर्नु, उनीहरूको पीडामा साथ दिनु र पुनःस्थापनाको यात्रामा आशा तथा सहानुभूतिको अनुभूति दिलाउनु रहेको छ।




.gif)





