काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जनताका समस्या र माग सङ्कलन गरी समाधानका लागि पहल गर्ने उद्देश्यले आज कात्तिक ७ गतेदेखि दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। अभियान आगामी मङ्सिर २५ गतेसम्म सञ्चालन हुने पार्टीले जनाएको छ।
अभियानका क्रममा जनताका समस्या र माग समेटिएका मागपत्र तथा ज्ञापनपत्र प्रधानमन्त्री, प्रदेशका मुख्यमन्त्री र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसमक्ष बुझाइनेछ।
पार्टीका अनुसार अभियानअन्तर्गत देशका विभिन्न स्थानमा जनभेला, अन्तरक्रिया, पत्रकार सम्मेलन तथा गोष्ठी आयोजना गरिनेछ। महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी, असुरक्षा तथा जनजीविकासँग सम्बन्धित समस्याबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराइने कार्यक्रम रहेको छ।
त्यसैगरी, प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत, क्षतिपूर्ति तथा पुनःस्थापनाका लागि पहल गरिनेछ। जनसेवा र जनचेतनामूलक कार्यक्रमसमेत अभियानका क्रममा सञ्चालन गरिने पार्टीले जनाएको छ।
नेकपाको केन्द्रीय संयोजन समितिको असोज २३ गते बसेको बैठकले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। जनताका समस्या पहिचान गरी समाधानका लागि सम्बन्धित निकायलाई जिम्मेवार बनाउन अभियान सञ्चालन गर्न लागिएको पार्टीले जनाएको छ।




.gif)





