दाङ । दाङमा आर्थिक वर्ष २०८२।८३ मा उद्योग तथा व्यवसाय क्षेत्रमा १ अर्ब ४३ करोड ८५ लाख रुपैयाँ लगानी भएको छ। घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार गत आर्थिक वर्षमा जिल्लामा १ हजार ८० नयाँ उद्योग तथा वाणिज्य फर्म दर्ता भएका छन्।
कार्यालयको तथ्यांकअनुसार नयाँ दर्ता भएका फर्ममध्ये ४५२ उद्योग र ६२८ वाणिज्य फर्म रहेका छन्। सोही अवधिमा ३२४ उद्योग र ४०५ वाणिज्य फर्म गरी कुल ७२९ उद्योग तथा व्यवसाय औपचारिक रूपमा बन्द भएका छन्।
कार्यालयमा पुगेर दर्ता खारेज गराएका व्यवसायको संख्या मात्रै सरकारी तथ्यांकमा समेटिएको छ। व्यवसाय बन्द भए पनि औपचारिक रूपमा दर्ता खारेज नगर्ने व्यवसायीको संख्या उल्लेख्य रहेकाले वास्तविक रूपमा बन्द भएका उद्योग तथा व्यवसायको संख्या अझ बढी हुन सक्ने निजी क्षेत्रका अगुवाहरूको भनाइ छ।
नयाँ व्यवसाय खुल्ने र बन्द हुने क्रम समानान्तर
तथ्यांकले जिल्लामा नयाँ उद्योग तथा व्यवसाय खुल्ने क्रमसँगै बन्द हुने क्रम पनि जारी रहेको देखाएको छ। यसले लगानी विस्तार भइरहे पनि व्यवसायको निरन्तरता र दिगोपनामा चुनौती रहेको संकेत गर्छ।
गत आर्थिक वर्षमा ३७६ उद्योग र ६२१ वाणिज्य फर्मको विवरण संशोधन गरिएको छ। यसैगरी ९५९ उद्योग र १ हजार २९९ वाणिज्य फर्म गरी कुल २ हजार २५८ उद्योग तथा व्यवसाय नवीकरण भएका छन्।
उद्योग–व्यवसायबाट १ हजार ९२५ जनाले पाए रोजगारी
उद्योग तथा व्यवसाय क्षेत्रमा भएको लगानीले रोजगारी सिर्जनामा समेत योगदान दिएको छ। कार्यालयको तथ्यांकअनुसार जिल्लाका उद्योग तथा व्यवसायबाट १ हजार ९२५ जनाले रोजगारी पाएका छन्। रोजगारी पाउनेमा ७७४ महिला र १ हजार १५१ पुरुष रहेका छन्।
यसैगरी उद्योग क्षेत्रमा २३९ महिला र २४६ पुरुष गरी ४८५ उद्यमी आबद्ध भएका छन्।
कार्यालयका अनुसार उद्योगको तुलनामा वाणिज्य क्षेत्रमा लगानी र व्यावसायिक गतिविधि बढी देखिएको छ। सेवा, खुद्रा तथा थोक व्यापार, निर्माण सामग्री र कृषि उत्पादनको बजारीकरणलगायत क्षेत्रमा निजी लगानी बढ्दा वाणिज्य क्षेत्र विस्तार भएको हो।
१ करोड ८२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन
घरेलु तथा साना उद्योग कार्यालय दाङले गत आर्थिक वर्षमा १ करोड ८२ लाख १० हजार ३४८ रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ। कार्यालयको विवरणअनुसार उद्योगतर्फ ६३ लाख २ हजार ६८० रुपैयाँ र वाणिज्यतर्फ ८७ लाख ९४ हजार ६६८ रुपैयाँ राजस्व संकलन भएको छ। यसैगरी बिमा दाबीबाट ३१ लाख १३ हजार रुपैयाँ प्राप्त भएको थियो।
कार्यालयका अनुसार कृषि, उत्पादनमूलक उद्योग, सेवा, पर्यटन, सूचना प्रविधि तथा व्यापारिक गतिविधिमा लगानी विस्तार हुँदा स्थानीय स्तरमा स्वरोजगारका अवसरसमेत बढिरहेका छन्। सरकारी सहुलियत कार्यक्रम, उद्यम विकास तालिम र वित्तीय संस्थाबाट हुने लगानी प्रवाहले उद्योग–व्यवसाय विस्तारमा सहयोग पुगेको कार्यालयको भनाइ छ।
उद्योग दर्ता र नवीकरण निःशुल्क
नयाँ उद्यमीलाई प्रोत्साहन गर्ने, व्यवसाय दर्ता प्रक्रिया सहज बनाउने, उद्योगको दिगोपनामा जोड दिने तथा उत्पादनमूलक क्षेत्रमा निजी लगानी आकर्षित गर्ने कार्यक्रमलाई प्रदेश सरकारले प्राथमिकता दिएको छ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा मदिरा र धूमपानसम्बन्धी उद्योगबाहेक अन्य उद्योगको दर्ता तथा नवीकरण निःशुल्क गरेको छ। यसबाट जिल्लामा नयाँ उद्योग दर्ता गर्ने उद्यमीको संख्या बढ्ने अपेक्षा घरेलु तथा साना उद्योग कार्यालय दाङले गरेको छ।
कार्यालयका अनुसार उद्योग तथा व्यवसायमा लगानी, रोजगारी सिर्जना र राजस्व संकलनले जिल्लाको आर्थिक गतिविधि विस्तार भइरहेको संकेत गरेका छन्। उत्पादन, व्यापार र सेवा क्षेत्रको विस्तारसँगै स्थानीय स्रोतसाधनको उपयोग र निजी क्षेत्रको सहभागिता बढ्दै गएको कार्यालयले जनाएको छ।




.gif)





