images

२०८३ कार्तिक ६ गते

images
images
images

महोत्तरीमा रावणवध उत्सव सम्पन्न, मटिहानीमा ५१ फिट अग्लो रावणको आकृति दहन

महोत्तरीमा रावणवध उत्सव सम्पन्न, मटिहानीमा ५१ फिट अग्लो रावणको आकृति दहन

images
images
बिहिवार, कार्तिक ६ २०८३
बिहिवार, कार्तिक ६ २०८३
  • महोत्तरी । शारदीय दशहरा अर्थात् विजया दशमीका अवसरमा मिथिलामा मनाइने परम्परागत रावणवध उत्सव महोत्तरीको मटिहानीसहित जिल्लाका विभिन्न स्थानमा बुधबार साँझ सम्पन्न भएको छ।

    images
    images

    त्रेतायुगमा असोज शुक्ल दशमीका दिन भगवान् श्रीरामले युद्धमा रावणको वध गरेको धार्मिक विश्वासका आधारमा मिथिला क्षेत्रमा यो उत्सव मनाउने परम्परा रहँदै आएको छ। सीताजीलाई आफ्नै चेलीबेटी मान्ने मिथिलाको सांस्कृतिक परम्पराका कारण यहाँ रावणवध उत्सवले विशेष महत्त्व राख्ने गरेको छ।

    मिथिला क्षेत्रमा विजया दशमीका दिन साँझपख रावणवध लीला प्रदर्शन गरिन्छ। मटिहानी–७ स्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायण लाल कर्णका अनुसार श्रीरामले दशमीको साँझ रावणको वध गरेको धार्मिक विश्वासका कारण मटिहानीमा हरेक वर्ष यो उत्सव आयोजना गरिँदै आएको हो।

    images
    images

    उनका अनुसार मिथिलाकी चेली सीताको अपहरण गर्ने रावणको वधलाई अन्यायमाथि न्यायको विजयका रूपमा लिने गरिन्छ।

    यसै परम्पराअनुसार मटिहानी–८ स्थित तस्मैयाबाबा उद्यानमा निर्माण गरिएको ५१ फिट अग्लो रावणको आकृतिलाई आग्नेय वाणको प्रतीकात्मक प्रयोग गर्दै आगो लगाएर दहन गरिएको छ। जलेश्वरमा पनि रावणवध उत्सव सम्पन्न भएको छ।

    मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलका अनुसार विजया दशमीका दिन देवी विसर्जनसँगै भगवान् श्रीरामले रावणको संहार गरेको स्मरणमा प्रतीकात्मक रूपमा रावणवध उत्सव मनाउने परम्परा छ।

    मिथिलामा दशहरा पर्वलाई देवी दुर्गाले महिषासुर लगायत दैत्यको संहार गरेको र त्रेतायुगमा श्रीरामले रावणको वध गरेको धार्मिक मान्यतासँग जोडेर हेर्ने गरिन्छ। नवमीसम्म देवीले दैत्यको संहार गरेको र दशमीका दिन श्रीरामले रावणमाथि विजय प्राप्त गरेको विश्वासका आधारमा यो परम्परा विकास भएको स्थानीय बासिन्दा बताउँछन्।

    मैथिल लोकपरम्पराका जानकार तथा पूर्वप्रशासक महेश्वर रायका अनुसार ‘दशहारा’लाई दस इन्द्रियको दासत्वमाथि विजय प्राप्त गर्ने पर्वका रूपमा समेत व्याख्या गरिन्छ। उनका अनुसार रावणवध उत्सव मिथिला क्षेत्रको महत्त्वपूर्ण सांस्कृतिक परम्परा हो।

    मटिहानीमा रावणवधका क्रममा दहन गरिने रावणको आकृतिलाई भोलिपल्ट बाजागाजा सहित जलाशयमा लगेर गहिरो पानीमा विसर्जन गर्ने परम्परासमेत रहँदै आएको छ। यसले उत्सवलाई धार्मिक आस्था र स्थानीय सांस्कृतिक पहिचानसँग जोडेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend