काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीको सचिवालय सदस्य तथा सहयोगीहरुको विवरण सार्वजनिक गरेको छ ।शुक्रबार कार्यालयले प्रधानमन्त्रीको सचिवालय विवरण सार्वजनिक गरेको हो । सार्वजनिक विवरण अनुसार प्रधानमन्त्री बालेन्द्र शाहका चार जना सल्लाहकार, एक जना विज्ञ र २० जना स्वकीय गरी २५ जनाको टिम रहेको छ ।सचिवालयमा तीन जना पदाधिकारीलाई मन्त्रीसरहको सुविधा तोकिएको छ । प्रधानमन्त्री शाहको मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम साह र स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदिशप्रसाद अग्रवाल रहेका छन् । अग्रवाल अवैतानिक स्वास्थ्य सल्लाहकारका रूपमा रहेका छन् ।
त्यसैगरी नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रलाई राज्यमन्त्रीसरहको सुविधा पाउने गरी नियुक्ति दिइएको छ । त्यसबाहेक शाहको प्रमुख स्वकीय सचिवमा सुवास शर्मा, स्वकीय सचिवमा नवीन भण्डारी, स्वकीय सहसचिवमा सञ्जीव पाण्डे, स्वकीय सहसचिव (प्रेस तथा अनुसन्धान विज्ञ) दिपा दाहाल, सन्तोष गिरी कार्यक्रम तथा भ्रमण संयोजक तथा विश्व राई विज्ञ (सामाजिक विकास) रहेका छन् । उनीहरूले रा.प. प्रथम श्रेणीको कर्मचारी सरह सुविधा पाउनेछन् । शाह गत चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।




.gif)



