सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले पदभार सम्हालेको ६३ दिनपछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा सार्वजनिक गरिएको विवरणअनुसार शाहीको सम्पत्तिमा पैतृक जग्गा, सुनचाँदी, बैंक मौज्दात तथा विभिन्न घरायसी सामग्री रहेका छन्।
सार्वजनिक विवरणअनुसार मुख्यमन्त्री शाहीको नाममा मुगुको साविक जिमा गाविस–९ मा ४०२ वर्गमिटर जग्गा रहेको छ। उनकी श्रीमती नारायणदेवी शाहीको नाममा साविक श्रीनगर गाविस–४ मा ४२४ वर्गमिटर जग्गा रहेको छ। उक्त जग्गा २० लाख रुपैयाँमा खरिद गरिएको र त्यसको स्रोत व्यवसायबाट प्राप्त आम्दानी रहेको उल्लेख छ।
मुख्यमन्त्री शाहीकी आमा ऐशा शाहीको नाममा सोरु गाउँपालिका–६ मा २ हजार ९४३.५० वर्गमिटर क्षेत्रफलमा घर रहेको छ। उक्त सम्पत्तिको स्रोत पैतृक रहेको जनाइएको छ। आमाकै नाममा साविक जिमा क्षेत्रका विभिन्न स्थानमा २२ भन्दा बढी कित्ता जग्गा रहेको र ती सबै पैतृक सम्पत्ति भएको विवरणमा उल्लेख छ।
शाहीकी छोरी उस्मिता शाहीको नाममा साविक श्रीनगर गाविस–४ मा ५६.२५ वर्गमिटर क्षेत्रफलको घर रहेको छ। उक्त घर बकसपत्रबाट प्राप्त भएको जनाइएको छ। छोरीकै नाममा २०७५ सालमा २ लाख ३५ हजार रुपैयाँमा खरिद गरिएको सुजुकी स्कुटरसमेत रहेको छ।
चल सम्पत्तितर्फ मुख्यमन्त्री शाहीसँग १० तोला सुन र १० तोला चाँदी रहेको विवरणमा उल्लेख छ। सुनमध्ये केही पैतृक रहेको तथा बाँकी विभिन्न समयमा शिक्षकको तलब, व्यवसायबाट प्राप्त आम्दानी र पारिश्रमिकबाट खरिद गरिएको जनाइएको छ।
उनको नाममा २ लाख रुपैयाँ बैंक मौज्दात रहेको छ। उक्त रकमको स्रोत सरकारी सुविधा रहेको उल्लेख गरिएको छ। यस्तै, शाहीको नाममा कुनै कम्पनीको सेयर, ऋणपत्र वा अन्य धितोपत्र नरहेको विवरणमा जनाइएको छ।
ऋणतर्फ मुख्यमन्त्री शाहीले कृषि विकास बैंक, मुगुबाट २०७९ असार २८ गते १८ लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन्। उक्त ऋणमध्ये केही रकम भुक्तानी भइसकेको विवरणमा जनाइएको छ।
सवारीसाधनमा छोरीको नाममा रहेको सुजुकी स्कुटरबाहेक चारपाङ्ग्रे निजी सवारीसाधन नरहेको बताइएको छ। पशुधनतर्फ सात वटा गाई–गोरु रहेको उल्लेख छ।
त्यस्तै, शाहीसँग ९० हजार रुपैयाँ मूल्यको सामसुङ मोबाइल, ६० हजार रुपैयाँको भिभो मोबाइल, १ लाख १० हजार रुपैयाँको क्यामरा र ९० हजार रुपैयाँको ल्यापटप रहेको विवरणमा उल्लेख गरिएको छ।
मुख्यमन्त्री शाहीले पदभार ग्रहण गरेको ६३ दिनसम्म सम्पत्ति विवरण सार्वजनिक नगरेको विषयमा समाचार सार्वजनिक भएपछि उनले विवरण सार्वजनिक गरेका हुन्।




.gif)





