images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • चाडपर्वमा यात्रु आवागमन सुरक्षित बनाउन पूर्वाधार...

चाडपर्वमा यात्रु आवागमन सुरक्षित बनाउन पूर्वाधार विकास समितिको ५ बुँदे निर्देशन

चाडपर्वमा यात्रु आवागमन सुरक्षित बनाउन पूर्वाधार विकास समितिको ५ बुँदे निर्देशन

images
images
बुधवार, आश्विन १४ २०८३
बुधवार, आश्विन १४ २०८३
  • काठमाडौँ । दसैँ, तिहार, छठ लगायतका नजिकिँदै गरेका चाडपर्वहरूमा यात्रुको आवागमनलाई सुरक्षित, सहज र मर्यादित बनाउन संघीय संसदको पूर्वाधार विकास समितिले सरकार तथा सम्बन्धित निकायलाई कडा निर्देशन दिएको छ। मंगलबार बसेको समितिको बैठकले चाडपर्व लक्षित यातायात व्यवस्थापनका लागि ५ बुँदे महत्त्वपूर्ण निर्णय गरेको हो।समितिको बैठकले यात्रुको चापलाई मध्यनजर गर्दै पर्याप्त सवारीसाधन परिचालन गर्न निर्देशन दिएको छ। जथाभावी सवारी रोक्ने र यात्रु चढाउने प्रवृत्तिलाई निरुत्साहित गर्दै निर्धारित बसपार्कबाट मात्र सवारी सञ्चालन गर्न, तोकिएको स्थानबाट टिकट बिक्री गर्न र सुरक्षित स्थानमा मात्र यात्रु चढाउने र ओराल्ने व्यवस्था मिलाउन समितिले भनेको छ। साथै, यातायात सेवालाई अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकामैत्री बनाउन र ठाउँठाउँमा 'यात्रु सहायता कक्ष' स्थापना गरी आवश्यक सहजीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

    images
    images

    चाडपर्वमा हुने अत्यधिक चाप र सम्भावित जोखिमको पूर्वमूल्याङ्कन गरी वैकल्पिक मार्गको तयारी गर्न समितिले सचेत गराएको छ। सवारीसाधनको अनिवार्य प्राविधिक परीक्षण गर्न, चालकलाई पर्याप्त विश्रामको व्यवस्था मिलाउन र सवारी साधनको गति नियन्त्रण गर्न निर्देशन दिइएको छ। क्षमताभन्दा बढी यात्रु राख्ने (ओभरलोड) कार्यलाई पूर्ण रूपमा नियन्त्रण गर्दै एकीकृत बसपार्क नीतिको प्रभावकारी कार्यान्वयन र निकायगत समन्वय कायम गर्न समितिले ध्यानाकर्षण गराएको छ।हरेक वर्ष चाडपर्वमा यात्रुले टिकट नपाउने र तोकिएको भन्दा बढी भाडा तिर्नुपर्ने समस्यालाई सम्बोधन गर्दै समितिले पूर्वाधार विकास मन्त्रालयलाई तत्काल कार्ययोजना बनाएर लागू गर्न निर्देशन दिएको छ। यात्रुले सहज रूपमा टिकट पाउने वातावरण बनाउन, भाडादरको प्रभावकारी कार्यान्वयन गर्न र गुनासो सुनुवाइको बलियो संयन्त्र निर्माण गर्न मन्त्रालयलाई भनिएको छ।

    लामो दुरीको यात्राका क्रममा राजमार्गका होटल तथा रेष्टुरेन्टहरूले यात्रुसँग खाना, खाजा र पिउने पानीमा चर्को मूल्य असुल्ने र गुणस्तरहीन खाना खुवाउने समस्यालाई मध्यनजर गर्दै समितिले त्यस्तो ठगी रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। यात्रुले उपभोग गर्ने वस्तुको मूल्य र गुणस्तरमा कडा निगरानी राख्न भनिएको छ।यसैबीच, सार्वजनिक यातायातलाई सरल र व्यवस्थित बनाउन समितिले यसअघि २०८३ असोज ५ गते गठन गरेको उपसमितिलाई पूर्णता दिने क्रममा माननीय राजु नाथ पाण्डेलाई सदस्यको रूपमा चयन गरेको छ। यस उपसमितिले चाडपर्वको समयमा यातायात क्षेत्रमा हुने समस्याहरूको अनुगमन र समाधानका लागि काम गर्नेछ।समितिको आजको बैठकमा सरोकारवालाहरूबाट प्राप्त सुझाव र रचनात्मक विचारलाई समेट्दै यात्रुको चाडपर्व यात्रालाई कष्टरहित बनाउन यी निर्णयहरू गरिएको समितिले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend