काठमाडौँ । सांस्कृतिक राजधानीका रूपमा परिचित भक्तपुरको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै भक्तपुर नगरपालिकाले लेखक, पत्रकार तथा लाङटाङ सद्भावना दूत अशोक सिलवाललाई सम्मान गरेको छ । ४७औँ विश्व पर्यटन दिवसका अवसरमा आयोजित कार्यक्रममा टूर गाइड समेत रहेका सिलवाललाई सम्मान गरिएको हो ।नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलगायत विशिष्ट व्यक्तित्वको उपस्थितिमा सिलवाललाई सम्मानपत्र प्रदान गरिएको थियो ।
भक्तपुर नगरपालिकाले भक्तपुरको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने संघसंस्था, पर्यटन व्यवसायी तथा सरोकारवालालाई सम्मान गर्ने क्रममा सिललवाललाई पनि सम्मान गरेको हो । सिललवाल गाउँ पर्यटन प्रवर्द्धन मञ्चका सल्लाहकारसमेत हुन् ।सिलवाल हिमालयदेखि महासागरसम्मकाे नेपाल किताब यात्राका संस्थापक हुन् । नेपालका ७७ वटै जिल्लाका साथै विश्वभर विस्तार भइरहेको याे यात्राले किताबलाई माध्यम बनाएर पर्यटन, प्रकृति, संस्कृति, आध्यात्मिकता, मानवता र एकताको सन्देश प्रवाह गर्दै आएको छ ।यात्रामा सिललवालका ‘एभरेस्टः एन अनफिनिस्ड स्टोरी’, ‘ओसनः द साउन्ड अफ द हिमालयाज’ र ‘अप्पा दीपो भव’ मुख्य कृतिका रूपमा समेटिएका छन् । ‘एभरेस्टः एन अनफिनिस्ड स्टोरी’ले सगरमाथासँग जोडिएको यात्रा, संघर्ष, भूकम्पको पीडा र मानवीय कथामार्फत गन्तव्यभन्दा यात्राको अर्थ खोज्छ ।
‘ओसनः द साउन्ड अफ द हिमालयाज’ले हिमाल र महासागरको एकत्वमार्फत ‘एक पृथ्वी, एक परिवार’को सन्देश दिन्छ भने ‘अप्पा दीपो भव’ले कैलाश-मानसरोवर यात्रामार्फत आफैँभित्रको कैलाश, आफैँभित्रको तीर्थ र आफैँभित्रको उज्यालो खोज्ने आध्यात्मिक सन्देश बोकेको छ ।यसै किताब यात्रामा सिलवालको आगामी कृति ‘लाङटाङः फ्रम डेथ टु लाइफ’ पनि समेटिएको छ। लाङटाङको विपत्तिपछिको पुनर्जागरण, जीवन र आशाको कथालाई समेट्ने उक्त कृतिले लाङटाङको कथा अझ व्यापक रूपमा विश्वसामु पुर्याउने लक्ष्य राखेको छ ।




.gif)





