काठमाडौं । हिमालय एअरलाइन्स्ले काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान सेवा पुनः सुरु गरेको छ।एअरलाइन्स्ले सोमबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँ र सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलबीच नियमित उडान सुरु गरेको हो। प्रारम्भिक चरणमा यो रुटमा सातामा दुई उडान सञ्चालन गरिनेछ।काठमाडौँबाट सांघाईका लागि हरेक सोमबार र शुक्रबार तथा सांघाईबाट काठमाडौँका लागि मंगलबार र शनिबार उडान हुने एअरलाइन्स्ले जनाएको छ। यात्रुको माग र उडानको यात्रु भारका आधारमा आगामी दिनमा उडान संख्या थप गर्ने योजना रहेको छ।
उडान सेवा पुनः सुरु भएसँगै हिमालय एअरलाइन्स् काठमाडौँ–सांघाई–काठमाडौँ रुटमा नियमित सिधा उडान सञ्चालन गर्ने एकमात्र नेपाली वायुसेवा कम्पनी बनेको दाबी गरिएको छ।एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले उडान पुनः सञ्चालनले नेपाल–चीनबीच व्यापार, पर्यटन तथा जनस्तरको सम्पर्क विस्तारमा सहयोग पुग्ने बताए। उनका अनुसार यस रुटले चीनबाट नेपाल आउने पर्यटकको संख्या बढाउनुका साथै पर्यटन र व्यापार क्षेत्रलाई समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ।एअरलाइन्स्ले यात्रुले टिकटिङ काउन्टर, आधिकारिक ट्राभल पार्टनर, वेबसाइट तथा मोबाइल एपमार्फत टिकट बुक गर्न सक्ने जनाएको छ।




.gif)



