काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा निरन्तर भइरहेको मौसमको प्रतिकूलताका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक व्यवस्थापन भद्रगोल बन्न पुगेको छ ।पछिल्लो समय मौसममा केही क्रमिक सुधार आएको महसुस गरिए तापनि पर्याप्त मात्रामा दृश्यता (भिजिबिलिटी) नखुल्दा आन्तरिक तथा बाह्य उडानहरू नराम्ररी प्रभावित भएका छन् । विमानस्थल कार्यालयका अनुसार सामान्यतया आँखाले हेरेर उडान भर्ने प्रणाली (भीएफआर– भिजुअल फ्लाइट रुल्स) लागू हुनका लागि कम्तीमा ५ हजार मिटर दृश्यता आवश्यक पर्छ ।
काठमाडौँको भिजिबिलिटी बिहान ३ देखि ४ हजार मिटरको आसपास मात्र रहेकोमा अहिले बढ्न थालेको विमानस्थल कार्यालयले जनाएको छ । अहिले सबै आन्तरिक हवाई उडानहरू उपकरणको सहायताबाट उडान सञ्चालन गर्ने प्रणाली (आइएफआर– इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स) अन्तर्गत मात्र सञ्चालन भइरहेका छन् । फ्लाइट राडारका अनुसार अहिले पनि काठमाडौँ अवतरण गर्न खोजेको जहाजहरू होल्ड गरेर पालैपालाे आइरहेको देखिन्छ । मौसमको यही अवस्थाका बिच पनि अहिले आन्तरिक उडानहरू लगभग सबै गन्तव्यमा सञ्चालन भइरहेका छन् । आन्तरिक उडानतर्फ मात्र नभई खराब मौसमको प्रत्यक्ष र गम्भीर असर अन्तर्राष्ट्रिय उडानहरूमा पनि स्पष्ट रूपमा देखिएको छ ।
विमानस्थलको एयर ट्राफिक कन्ट्रोल (एटीसी) का अनुसार हिमालय एयरलाइन्स र कतार एयरवेजका विमानहरू उडेपछि उडान र अवतरणको क्रम (सिक्वेन्स) मिलाउन ट्राफिक व्यवस्थापन भद्रगोल बनको थियो । एउटै समयमा धेरै विमानको चाप र खराब मौसमका कारण सुरक्षित अवतरण गराउनुपर्ने प्राविधिक बाध्यताले गर्दा केही अन्तर्राष्ट्रिय विमानहरूलाई काठमाडौँको आकाशमै लामो समयसम्म फन्को मार्न (होल्ड गर्न) लगाइएको छ । उडानहरू होल्ड हुनु र निर्धारित समयभन्दा ढिलाइ हुनुले त्रिभुवन विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय दुवै टर्मिनल भवनमा यात्रुहरूको चाप अत्यधिक बढेको छ ।




.gif)





