काठमाडौँ । आज सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।
यस वर्षको विश्व पर्यटन दिवसको नारा ‘पर्यटनको पुनःपरिकल्पनाका लागि डिजिटल कार्यसूची र कृत्रिम बुद्धिमत्ता’ रहेको छ। नाराले पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन तथा सेवा प्रवाहमा डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ताको बढ्दो भूमिकालाई प्राथमिकता दिएको छ।
विश्व पर्यटन दिवसको अवसरमा नेपालमा पनि पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न कार्यक्रम आयोजना भइरहेका छन्। पर्यटन क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै पर्यटकको अनुभव सुधार गर्ने, पर्यटन व्यवसायमा डिजिटल प्रविधिको प्रयोग बढाउने तथा नयाँ प्रविधिमार्फत पर्यटन प्रवर्द्धन गर्ने विषयमा यस वर्ष विशेष जोड दिइएको छ।
संयुक्त राष्ट्र विश्व पर्यटन संगठन (डब्लुटीओ) ले सन् १९८० देखि हरेक वर्ष सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसका रूपमा मनाउँदै आएको छ। पर्यटनको आर्थिक, सामाजिक तथा सांस्कृतिक महत्वबारे विश्वव्यापी रूपमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको हो।
नेपालका लागि पर्यटन विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र चलायमान बनाउने महत्वपूर्ण क्षेत्रका रूपमा रहँदै आएको छ। पछिल्लो समय डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ताको प्रयोग बढ्दै जाँदा नेपालको पर्यटन क्षेत्रलाई समेत नयाँ प्रविधिसँग जोडेर थप प्रभावकारी र प्रतिस्पर्धी बनाउने अवसर सिर्जना भएको छ।




.gif)





