काठमाडौं । सीमित कन्टेनरमा तोकिएको परिमाणको मालबस्तु मात्र आयात गर्न पाउने सीमा तोकिएका कारण डेढ महिनादेखि चीनको सीमा क्षेत्रमा थन्केका व्यापारिक सामान आयातको ढुवानी भाडा डेढ सय प्रतिशतले बृद्धि भएको छ ।
भाडा वृद्धिले जाडो मौसमका लागि झिकाइएका मालबस्तुको मूल्यवृद्धि हुने र यसको प्रत्यक्ष भार उपभोक्तामा पर्ने व्यवसायीले बताएका छन् । गत असोजको बाढीका कारण क्षतिग्रस्त रसुवागढी–केरुङ २४ किमि सडक पुनर्निर्माण र मर्मत भइरहेकाले नेपाली व्यवसायीको माग अनुसारको कन्टेनर चीन प्रवेश गर्न पाएका छैनन् । केरुङमा अहिले तीन चार सय कन्टेनर सामान गोदामा रहेको छ । चीनको विभिन्न सहरबाट नेपाल भित्र्याउन अहिले केरुङ र तातोपानी नाकातर्फ जाडोमा सामान बोकेर कन्टेनर आइरहेका छन् ।
तर ढुवानीका लागि पर्याप्त कन्टेनर नभएका कारण मौसमी मालबस्तु नेपाल भित्रिन सकेका छैनन् भने भाडा अत्यधिक बढेको छ । भाडा वृद्धिका कारण केरुङ जान हिँडेका कतिपय मालबाहक कन्टेनर तिब्बतको सिगात्सेबाट तातोपानीतर्फ मोडिन थालेको व्यवसायीले बताए ।
रसुवागढी नाकाबाट दैनिक २५–३० वटा कन्टेर मात्र एकतर्फी रुपमा केरुङ जान पाउँछन् । उता गएका कन्टेनरहरूले पनि एक पटकमा १५ टनभन्दा बढी सामान ल्याउन पाईँदैन । सामानको परिमाण धेरै रहेको र ढुवानीका साधानको अभाव भएका कारण कृतिम भाडा वृद्धि भएको हो । व्यवसायीले नै बढी भाडा तिरेर भएपनि सामान काठमाडौं ल्याउन खोजेका कारण कन्टेनर चालकहरु पनि जसले भाडा बढी दिन्छ उसैको सामान लोड गर्न राजी हुने गरेका छन् ।
एक व्यवसायी भन्छन्, ‘मैले त धेरै भाडा तिर्नुभन्दा केरुङका कन्टेनर तातोपानी फर्काएर ल्याउनु सस्तो देखेको छु ।’ नेपालबाट केरुङ सामान लिन जाने तयारीमा तीन सयभन्दा बढी खाली कन्टेनर रसुवाको सीमा क्षेत्रमा लाईन लागेका छन् ।रसुवा भन्सार प्रमुख तुलसीप्रसाद भट्टराइले ढुवानी भाडा अस्वभावक रुपमा वृद्धि भएका कारण यसको मार उपभोक्तामा पर्ने बताए । व्यवसायीलाई उद्दृत गर्दै भट्टराइले दिएको जानकारीअनुसार एउटै कन्टेनरमा १ लाख ६० हजार भाडा वृद्धि हुँदा प्रतिवटा ज्याकेटमा डेढदेखि दुई सय मूल्यवृद्धि हुनेछ । ‘यसको समाधान भनेको मुख्यतया धेरै कन्टेनर केरुङ पठाएर सामान आयातमा सहजीकरण गर्नु हो,’ उनले भने, ‘हामीले केरुङका अधिकारीहरुसँग कन्टेनरको संख्या बढाउन अनुरोध गरिरहेका छौं । केरुङतर्फ पनि सडक बनाउने काम भइरहेकाले दबाब दिन सक्ने अवस्था छैन ।’
उनका अनुसार बाढीबाट ठूलो क्षति भएकाले सडक बनाउन लामो समय लाग्ने र अप्ठेरो भौगोलिक अवस्थाका कारण दिनभर कन्टेनर आउजाउ गर्न पनि नसक्ने परिस्थिति रहेको छ । सडक धेरै जीर्ण भएकाले ढुवानी गर्दा कन्टेनरमा लोड गरिएको सामानको तौल र दैनिक गुड्ने गाडीको संख्या तोकेको चिनियाँ अधिकारीहरुले बताउने गरेका छन् ।केरुङ प्रशासनले बाढीले छियाछिया बनाएको सडक बनाउन दैनिक ५–६ घण्टा काम गर्नुपर्ने कारण देखाएर कन्टेनर प्रवेशमा सीमा तोकेको हो । व्यवसायीले जाडोका ज्याकेट, स्विटरलगायतका तयारी पोशाक छिटो बजार पठाउनुपर्ने र फलफूल एवं मसलाजन्य खाद्यबस्तु कुहिने डरले केरुङमा गोदाम गरिएका सामान ल्याउन हतार गर्दा कन्टेनरको अभाव भएर ढुवानी भाडा जथाभावी बढाइएको छ । व्यवसायीकाअनुसार साविक ९० हजारबाट १ लाख ६० हजार बढाएर ढुवानी भाडा २ लाख ५० हजार पुर्याइएको छ ।
‘प्रतिकन्टेनर १ लाख ६० हजार भाडा वृद्धि हुनु अस्वभाविक हो,’ सिन्धपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले भने, ‘सबै व्यवसायीले एकैपटक सामान ल्याउन खोज्दा कन्टेनर अभाव भएको छ ।’व्यवसायीले भाडा वृद्धि कृतिम भएको बताए । सबै व्यवसायीले उक्त सामान छिटोभन्दा छिटो नेपाल भित्र्याउन चाहेकाले कन्टेनरको अभाव भएको सरोकारवालाहरु बताउँछन् । बाढीपहिरोका कारण सडक एक महिना अवरुद्ध भएकाले ४–५ सय कन्टेनर व्यापारिक मालबस्तु गोदाममा थन्केका छन् ।
बिहान उताबाट आउने र बेलुका नेपालबाट खाली कन्टेनर केरुङ जाने गरी व्यवस्थापन मिलाइएको छ । चाहेजति संख्यामा कन्टेनर उता जान नपाउने भएकाले सामान धेरै तर ढुवानीका साधान कम हुँदा भाडा वृद्धि गर्ने मौका मिलेको हो ।




.gif)





