काठमाडौं । नेकपा एमाले बागमती प्रदेशमा मुख्यमन्त्री चयनका विषयमा सहमति जुटेको छ। पार्टी केन्द्रीय सचिव महेश बस्नेत र राजन भट्टराईसहितका नेताबीच भएको छलफलपछि भक्तपुरका प्रदेश सांसद किरण थापालाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने सहमति भएको प्रदेश सांसद केशव पोखरेलले जानकारी दिएका छन्।
यसअघि बागमती प्रदेश सभाका एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो। पछिल्लो सहमतिअनुसार थापालाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने र थपलिया प्रदेश संसदीय दलको नेताकै रूपमा रहने सहमति भएको जनाइएको छ।
सहमति कार्यान्वयनका लागि एमाले बागमती प्रदेश संसदीय दलको बैठक हेटौँडामा बसेको थियो। बैठकले किरण थापालाई मुख्यमन्त्रीका रूपमा औपचारिक रूपमा अघि बढाउने निर्णय गरेको जनाइएको छ।
यससँगै बागमती प्रदेश सरकार गठन तथा नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढ्ने भएको छ। पार्टीभित्रको पछिल्लो सहमतिले यसअघि देखिएको नेतृत्व विवाद समाधान गर्ने अपेक्षा गरिएको छ।




.gif)





