काठमाडौं । प्रिफ्याब प्यानल नेपालले काठमाडौंमा आफ्नो भव्य कर्पोरेट कार्यालय सञ्चालनमा ल्याएको छ ।नेपालको निर्माण क्षेत्रमा आधुनिक प्रविधिमा आधारित निर्माण सामग्रीको उत्पादन तथा प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ अघि बढिरहेको उक्त कम्पनीले काठमाडौं महानगरपालिका–३२, जडीबुटीमा आफ्नो केन्द्रीय कर्पोरेट कार्यालय औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो।चितवनको भरतपुर महानगरपालिका–८ मा उद्योग तथा उत्पादन कारखाना सञ्चालन गर्दै आएको कम्पनी करिब दुई वर्षअघि १० करोड रुपैयाँको प्रारम्भिक लगानीमा स्थापना भएको थियो । यस कम्पनीमा हालसम्म करिब २५ करोड रुपैयाँ लगानी भइसकेको छ।
उत्पादन क्षमता र गुणस्तर विस्तारका लागि चीन र कोरियाबाट थप अत्याधुनिक मेसिनरी तथा उपकरणहरू ल्याउने प्रक्रिया तीव्रताका साथ अघि बढाइएको कम्पनीले जनाएको छ। यसमा करिब २० करोड रुपैयाँ बराबरको थप मेसिनरी लगानी हुने र आगामी चरणमा कम्पनीको कुल लगानी करिब ७५ करोड रुपैयाँसम्म पुर्याउने लक्ष्य रहेको छ।प्रिफ्याब प्यानल नेपालले आधुनिक निर्माण प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै ब्रान्डअन्तर्गत ‘स्मार्ट प्यानल’ उत्पादन गर्दै आएको छ। कम्पनीले हाल सिलिकन बोर्ड, सिमेन्ट बोर्ड, नेटवायर बोर्ड, स्मार्ट ब्रिक्स, स्मार्ट ब्लक्स लगायतका विभिन्न आधुनिक निर्माण सामग्रीहरू उत्पादन गरिरहेको छ।ग्राहक तथा परियोजनाको आवश्यकता अनुसार कम्पनीले ८ फिट, ९ फिट र १० फिट लम्बाइका तथा २, ३, ४ र ५ इन्च मोटाइका प्यानलहरू उत्पादन गर्दै आएको छ। विभिन्न आकार तथा मोटाइका प्यानल उपलब्ध गराउँदै कम्पनीले आवासीय भवनदेखि व्यावसायिक तथा अन्य पूर्वाधार परियोजनासम्मका लागि आवश्यकताअनुसार निर्माण समाधान उपलब्ध गराउँदै आएको जनाएको छ।
हालसम्म साना तथा ठूला गरी ५०० भन्दा बढी परियोजनामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएर काम सम्पन्न गरिसकेको कम्पनीले बजार विस्तारको क्रममा नेपालका विभिन्न क्षेत्रमा ६ वटा आधिकारिक डिलर स्थापना गरिसकेको जनाएको छ । कम्पनीले आगामी चरणमा उत्पादनको दायरा थप विस्तार गर्ने तयारी गरेको छ। विशेषगरी ईपीएस बोर्ड तथा पफ बोर्ड (पीयूएफ बोर्ड) उत्पादनका लागि आवश्यक सम्पूर्ण तयारी अघि बढाइएको कम्पनीले जनाएको छ।नेपालको निर्माण क्षेत्रमा बढ्दो मागलाई सम्बोधन गर्न आधुनिक प्रविधि, उत्पादन क्षमता र गुणस्तरमा लगानी बढाउँदै जाने कम्पनीको रणनीति छ। चीन तथा कोरियाबाट ल्याइने अत्याधुनिक मेसिनरी सञ्चालनमा आएपछि उत्पादन क्षमता वृद्धि हुनुका साथै नेपाली बजारमा आधुनिक निर्माण सामग्रीको आपूर्ति थप सहज हुने कम्पनीको भनाइ छ । उद्योग सञ्चालनबाट हाल प्रत्यक्ष रूपमा करिब ३५ जनाले रोजगारी प्राप्त गरिरहेका छन्।
- दुई वर्षभित्र आईपीओको लक्ष्य
प्रिफ्याब प्यानल नेपालले आगामी दुई वर्षभित्र सर्वसाधारणका लागि सेयर (आईपीओ) जारी गर्ने लक्ष्य लिएको छ। त्यसका लागि कम्पनीले उत्पादन क्षमता विस्तार, नयाँ प्रविधिको प्रयोग, बजार विस्तार, संस्थागत सुशासन र वित्तीय व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ।कम्पनीको योजना सफल भएमा आगामी चरणमा कुल लगानी करिब ७५ करोड रुपैयाँसम्म पुग्ने र उत्पादन तथा वितरण सञ्जाल अझ व्यापक कम्पनीको दाबी छ ।




.gif)





