बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खानेपानीका पूर्वाधारको सुरक्षा, संरक्षण र दिगोपनामा विशेष ध्यान दिन आग्रह गरेका छन्।अर्घाखाँचीको शितगंगा नगरपालिका–८ मा निर्माण गरिएको लाहापे डिप बोरिङ खानेपानी आयोजनाको आइतबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खानेपानी आयोजना निर्माणसँगै त्यसको संरक्षण र दीर्घकालीन सञ्चालनमा समेत ध्यान दिनुपर्ने बताएका हुन्।
उनले प्रदेश सरकारले खानेपानी क्षेत्रमा लगानी बढाउँदै गएको उल्लेख गर्दै निर्माण भएका आयोजनालाई प्रभावकारी र दीर्घकालीन रूपमा सञ्चालन गर्न उपभोक्ताको भूमिका महत्त्वपूर्ण हुने बताए।खानेपानीका संरचनाको नियमित मर्मतसम्भार, पाइपको सुरक्षा तथा संरक्षणमा उपभोक्ता समितिहरू जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिए। आयोजना निर्माणमा मात्रै सीमित नभई नियमित सञ्चालन, मर्मतसम्भार र संरक्षणलाई पनि प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
नागरिकलाई स्वच्छ र सहज रूपमा खानेपानी उपलब्ध गराउने उद्देश्यले प्रदेश सरकारले विभिन्न क्षेत्रमा खानेपानी आयोजना सञ्चालन गरिरहेको बताउँदै मुख्यमन्त्री आचार्यले निर्माणाधीन तथा अधुरा आयोजनालाई प्राथमिकताका आधारमा सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको बताए।उनले खानेपानी आयोजना निर्माण गर्दा स्थानीय आवश्यकता, पानीको स्रोतको उपलब्धता र दीर्घकालीन सञ्चालनको सम्भावनालाई समेत ध्यान दिनुपर्ने बताए। आयोजना सम्पन्न भएपछि त्यसको स्वामित्व उपभोक्ताले लिएर संरक्षण र सञ्चालनमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।लाहापे डिप बोरिङ खानेपानी आयोजना सञ्चालनमा आएपछि शितगंगा नगरपालिका–८ का स्थानीय बासिन्दालाई स्वच्छ खानेपानीमा सहज पहुँच पुग्ने अपेक्षा गरिएको छ।




.gif)





