काठमाडौँ, २० कात्तिकः सोमबार साँझ परेको बेमौसमी वर्षाले बाँकेमा काटेर खेतमै सुकाएको धानबालीमा क्षति पुर्याएको छ । वर्षाले भित्र्याउन ठिक्क परेको धानको बाला रुझाएको छ भने काट्न ठिक्क परेको धान खेतमा नै झारि दिएको छ । वर्ष दिन सम्म खाने धानबाली वर्षाले भिजाएर क्षति पुर्याएको नेपालगञ्ज–१७ परसपुरका किसान राम सुरत बर्माले बताउनु भयो ।
दुई बिघा खेतमा लगाएको मसिनो जातको धान काटेर स्याहार्ने बेला गए रातिको वर्षाले भिजाएर ठूलो क्षति भएको उहाँको भनाइ छ । केही दिन देखि मौसम पूर्ण रूपमा नखुलेका बेला डराइ डराई धान काटेका किसानलाई वर्षाले निराश पारेको छ ।
नेपालगञ्ज–१७ थुकैला गाउँकी किसान मायावती यादवले वर्ष भरि खाने धान क्षणभरमै भिजेर नष्ट भएको बताउनु भयो । उहाँले भन्नुभयो, “धान काटेको तीन दिन भयो, दिपावली मनाएर घर लैजाने भनेको पानीले रुझायो, अब धान र पराल काम नलाग्ने भयो ।”
बेमौसमी वर्षाले धान स्याहार्न नपाएका यहाँका किसानलाई चिन्तित बनाएको छ । कृषि ज्ञान केन्द्र बाँकेका कार्यालय प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ विनोद घिमिरेले बेमौसमी वर्षाले काटेको धानमा ठूलो क्षति पुर्याएको बताउनुभयो ।
“अचानक परेको पानीले अन्य बालीमा असर नपुगे पनि काटेको धानलाई क्षति पुर्याएको छ, के कति क्षति भयो भन्ने तथ्याङ्क सङ्कलनमा लागेका छौँ”, उहाँले भन्नुभयो, “बाँकेमा छिटो पाक्ने धान किसानले स्याहारि सकेका छन्, ढिलो पाक्ने धान भित्र्याउने बेला क्षति पुगेको छ ।”
उहाँले छिटो पाक्ने धान रोपेका बाँकेका अधिकांश किसानले धान स्याहारेर गहुँ, तोरी खेतीका लागि खेत तयारी गरिरहेको जानकारी दिनुभयो । करिब ६० प्रतिशत बढी किसानले धानबाली भित्र्याइ सकेको अनुमान रहेको प्रमुख घिमिरेले बताउनु भयो । बाँकेमा यो वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएकामा बेमौमी वर्षाले धानबालीमा क्षति पुर्याएको छ ।




.gif)





