काठमाडौँ । पाककला केवल जीविकोपार्जनको माध्यम मात्र होइन, सिर्जनशीलता, अनुशासन, संस्कृति र समर्पणको जीवन्त अभिव्यक्ति पनि हो। यही तथ्यलाई आफ्नो जीवन र कर्मबाट प्रमाणित गरेका छन् कार्यकारी शेफ ओमबहादुर थापाले, जसको व्यावसायिक यात्रा नेपाली युवाका लागि प्रेरणाको स्रोत बनेको छ।
तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिकाका स्थायी बासिन्दा थापा हाल चितवनको नयाँबस्तीमा बसोबास गर्दै आएका छन्। विगत चार वर्षदेखि उनी झापाको धुलाबारीस्थित होटल मेची क्राउनमा कार्यकारी शेफका रूपमा कार्यरत छन्। आफ्नो नेतृत्वमा उनले गुणस्तरीय आतिथ्य सेवा, नवीन स्वाद, खाद्य सुरक्षाका मापदण्ड तथा व्यावसायिक उत्कृष्टतालाई सँगसँगै अघि बढाइरहेका छन्।
उनको पाक–यात्राको सुरुआत भारतको मुम्बईबाट भएको थियो। परिवारबाट टाढा बसेर कठिन परिस्थितिमा संघर्ष गर्दै उनले साना होटलदेखि प्रतिष्ठित फाइन डाइनिङ रेस्टुरेन्टसम्म काम गर्ने अवसर पाए। त्यही अनुभवले उनलाई परिश्रम, अनुशासन, धैर्य र निरन्तर सिकाइको वास्तविक महत्व सिकायो।
पछि उनले पुणेस्थित अम्बी भ्याली सिटी (सहारा समूह), हैदराबादको रामोजी फिल्म सिटीअन्तर्गत सञ्चालित तारा र सितारा होटल, तथा जैसलमेर मेरियट रिसोर्ट एन्ड स्पा जस्ता अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित आतिथ्य संस्थाहरूमा सेवा गर्ने अवसर प्राप्त गरे। ती संस्थाहरूमा हासिल गरेको अनुभवले उनको व्यावसायिक दक्षतालाई थप परिष्कृत बनाउनुका साथै पाककलाप्रतिको दृष्टिकोणलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्यो।
शेफ थापाका अनुसार उनी आज जुन स्थानमा पुगेका छन्, त्यो कुनै संयोगको परिणाम होइन। हजारौं घण्टाको निरन्तर मेहनत, त्याग, संघर्ष, अनुशासन र आत्मविश्वासको बलमा उनले यो उपलब्धि हासिल गरेका हुन्। उनको विश्वास छ—कडा परिश्रम कहिल्यै खेर जाँदैन, र सिक्ने प्रक्रिया कहिल्यै रोकिनु हुँदैन।
उनको लक्ष्य स्वादिष्ट परिकार तयार गर्नुमा मात्र सीमित छैन। नेपाली खानाको मौलिक स्वाद, विविधता र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा अझ सशक्त रूपमा स्थापित गर्ने उनको दीर्घकालीन उद्देश्य रहेको छ। त्यसका लागि उनी निरन्तर नयाँ प्रविधि सिक्ने, आफ्नो अनुभव बाँड्ने तथा नयाँ पुस्ताका शेफहरूलाई प्रेरित गर्ने कार्यमा सक्रिय छन्।
नेपालको पहिलो खाद्य शब्दकोश फलाङ फुड डिक्सनरीका लेखक तथा हाम्रा अष्ट्रेलिया संवाददाता शिव न्यौपानेसँगको विशेष कुराकानीमा शेफ थापाले आफ्नो सफलताको मूल मन्त्र साझा गर्दै भने, जीवनमा कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्न निरन्तर मेहनत, अनुशासन, धैर्य र इमानदार कार्यसंस्कृतिको विकल्प हुँदैन। चुनौतीहरूलाई अवसरका रूपमा स्वीकार गर्दै निरन्तर सिक्ने र आफूलाई सुधार्ने व्यक्ति अन्ततः सफल हुन्छ।
उनका अनुसार सफलता छोटो बाटोबाट प्राप्त हुँदैनस दीर्घकालीन समर्पण, सकारात्मक सोच र अथक प्रयासले मात्र दिगो उपलब्धि हासिल गर्न सकिन्छ।
विश्वव्यापी रूपमा आतिथ्य उद्योग तीव्र प्रतिस्पर्धाको चरणमा रहेको वर्तमान समयमा शेफ ओमबहादुर थापाको जीवनयात्राले नेपाली युवालाई स्पष्ट सन्देश दिन्छ—प्रतिभा महत्वपूर्ण भए पनि निरन्तर मेहनत, अनुशासन, धैर्य, इमानदारी र सिक्ने इच्छाशक्ति नै सफलताको वास्तविक आधार हुन्। यस्ता प्रेरणादायी व्यक्तित्वहरूको अनुभवले नेपालको पाककला तथा आतिथ्य उद्योगलाई अन्तर्राष्ट्रिय उचाइमा पुर्याउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गर्न सकिन्छ।




.gif)





