काठमाडौं, २६ असार । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत गोल्ड अवार्ड प्राप्त गरेको छ। कम्पनीले आफ्नो २५औँ वार्षिकोत्सवका अवसरमा प्राप्त यो सम्मानलाई संस्थागत पारदर्शिता र सुशासनको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले काठमाडौंस्थित होटल याक एन्ड यतीमा आयोजित विशेष समारोहमा उक्त अवार्ड प्रदान गरेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले संयुक्त रूपमा पुरस्कार ग्रहण गरेका थिए।
आईक्यानका अनुसार आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, पर्याप्त खुलासा, नेपाल वित्तीय प्रतिवेदन मान (NFRS) तथा अन्य लेखा मापदण्डको प्रभावकारी पालना र संस्थागत सुशासनप्रतिको प्रतिबद्धताको मूल्यांकनका आधारमा नेपाल लाइफलाई गोल्ड अवार्ड प्रदान गरिएको हो।
कम्पनीका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म ५२ लाख ४० हजारभन्दा बढी बीमालेख जारी गरिएको छ। साथै, कम्पनीले २ खर्ब ६७ अर्ब रुपैयाँभन्दा बढीको जीवन बीमा कोष व्यवस्थापन गरिरहेको र हालसम्म १ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी बीमा दाबी भुक्तानी गरिसकेको जनाएको छ।
नेपाल लाइफले हालसम्म नेपाल सरकारलाई १७ अर्ब रुपैयाँभन्दा बढी राजस्व तथा कर बुझाइसकेको पनि जनाएको छ। कम्पनीका अनुसार वित्तीय स्थायित्व, सुदृढ बजार स्थिति तथा दायित्व बहन गर्ने उच्च क्षमताका आधारमा इक्रा नेपालबाट ‘डबल ए माइनस (AA-)’ क्रेडिट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो जीवन बीमा कम्पनीका रूपमा समेत आफू स्थापित भएको छ।




.gif)





