काठमाडौं, २६ असार । कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी साउन महिनादेखि भूमि प्रशासन सम्बन्धी सेवा सञ्चालन गर्ने भएको छ। सेवा सुरु भएपछि जग्गाको कित्ताकाट, कित्ता एकीकरण लगायतका भूमिसम्बन्धी सेवा अब नगरवासीले उपमहानगरपालिकाबाटै प्राप्त गर्नेछन्।
यसअघि नापी कार्यालय र भूमि प्रशासन कार्यालयमार्फत प्रदान हुँदै आएका यी सेवाहरू अब स्थानीय तहबाटै उपलब्ध हुनेछन्। सेवा सञ्चालनको तयारीस्वरूप उपमहानगरपालिकाका प्राविधिक कर्मचारीलाई भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र, धुलिखेलको सहयोगमा पाँचदिने तालिम सुरु गरिएको छ।
धनगढीमा सञ्चालन भइरहेको तालिममा उपमहानगरपालिकाका २० जना तथा कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाका चार जना कर्मचारी सहभागी छन्। तालिम सम्पन्न भएपछि बेल्डाँडी गाउँपालिकाले पनि भूमि प्रशासनसम्बन्धी सेवा सुरु गर्ने तयारी गरेको छ।
भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका निर्देशक सञ्जय मानन्धरका अनुसार तालिममा भू–सूचना प्रणाली नापनक्सा प्रणाली, भूमिसम्बन्धी विद्युतीय प्रणाली, ‘मेरो नक्सा’ प्रणाली मार्फत मोबाइलबाटै जग्गाको नक्सा प्राप्त गर्ने प्रक्रिया तथा जग्गा रजिस्ट्रेसन प्रणाली लगायतका विषयमा प्रशिक्षण दिइनेछ।
उनले हालसम्म देशभर सात वटा स्थानीय तहले भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरिसकेको जानकारी दिँदै सुदूरपश्चिम प्रदेशमा भने यो सेवा सुरु गर्ने धनगढी पहिलो पालिका बन्ने बताए।
तालिम उद्घाटन कार्यक्रममा नापी कार्यालय कैलालीका प्रमुख केशवराज लेखक र भूमि प्रशासन कार्यालय कैलालीका प्रमुख लक्ष्मण कठायतले सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले सेवा सञ्चालनसँगै स्थानीय तहको जिम्मेवारी पनि बढ्ने उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर गुणस्तरीय सेवा दिन कर्मचारीहरूलाई निर्देशन दिए। उनले सेवा सञ्चालनको केही महिनापछि पुनः पुनर्ताजगी तालिम सञ्चालन गर्न पनि आग्रह गरे।




.gif)





