images

२०८३ आश्विन २२ गते

images
images
images
  • कृषि
  • किसानले पाल्न छोडे हल गोरु, मिनिटेलर...

किसानले पाल्न छोडे हल गोरु, मिनिटेलर हलोले जोत्छन् खेतबारी

किसानले पाल्न छोडे हल गोरु, मिनिटेलर हलोले जोत्छन् खेतबारी

images
images
बुधवार, कार्तिक १४ २०८१
बुधवार, कार्तिक १४ २०८१
  • काठमाडौँ, १४ कात्तिकः  एक दशक अगाडि सम्म बागलुङका ग्रामीण क्षेत्रमा पुग्दा खेतबारी जोत्न हल गोरु नै प्रयोग गरिन्थ्यो । खेतबारी जोत्ने हली पनि प्रशस्त हुन्थे । तर हिजो आज जनशक्ति अभावमा खेतबारी बाँझोमा परिणत हुँदै गएका छन् । सीमित खेतबारीमा मात्रै किसानले खेती गर्ने छन् । 

    images
    images

    पहिले हल गोरुको काम अहिले मिनिटेलर (आधुनिक हलो) बाटै हुन थालेको छ । बजार क्षेत्रमा एक दशक अगाडि देखि नै आधुनिकको प्रयोग गरेर खेतबारी खनजोत गरिए गाउँमा त्यो सुविधा थिएन । 

    अहिले यो सुविधा गाउँगाउँ र टोलटोल सम्मै पुगेपछि हल गोरु पाल्न छोडिएको हो । अहिले ग्रामीण क्षेत्रका किसानले अगाल्दै आएको परम्परागत खेती प्रणाली फेरिँदै गएपछि गाउँमा अचेल हल गोरु पाउन मुस्किल हुन्छ । 

    images
    images

    जिल्लाको ढोरपाटन, गलकोट, जैमिनी नगरपालिका, निसीखोला, तमानखोला, ताराखोला गाउँपालिकाका एउटै परिवारले दस हल सम्म गोरु पाल्ने गरेको पाइन्थ्यो तर अहिले त्यो अवस्था छैन । 

    अहिले बारी खनजोत र बाली लगाउने तथा भित्र्याउने कामका लागि अर्मपर्म गर्ने चलन पनि हटेको छ । पछिल्लो समय खनजोतका लागि मिनिटेलर हलो बढी प्रयोगमा आएपछि गोरुले दुई दिनमा सक्ने काम मिनिटेलरले दुई घण्टामै सकिदिन्छ । त्यसले गर्दा किसानको आधुनिक हलोप्रति आकर्षण बढेको गलकोट नगरपालिका–५ का कृष्णबहादुर खत्रीले बताउनुभयो । मिनिटेलर हलोले छिटोछिटो जोत्दा समयको बचत हुने र खर्च पनि कम हुने उहाँको भनाइ छ । 

    उहाँले भन्नुभयो, “पाँच÷सात वर्ष पहिला गाउँमा धेरै मान्छे थिए, वरपरका छरछिमेकी भएर अर्मपर्म गथ्र्यौ, गोरु नपाल्ने कोही हुन्थेन, अहिले त युवा जति विदेश गए, हामी बुढाबुढी भयौँ, गोरु पाल्न सक्ने अवस्था छैन, बजारमा गएर हलो किनेर ल्यायो, गोरुले दिन भरि लगाउने काम एकै छिनमा सकिन्छ ।” निसीखोला गाउँपालिका–४ का मनप्रसाद पौडेलले गोरुले खेतबारी जोत्दा समय लाग्ने भए उत्पादन राम्रो हुने तर मिनिटेलरले छिटो भए उत्पादनमा ह्रास आउने बताउनुभयो । मिनिटेलरले बारी गहिरो गरी नजोत्दा मकै, धान धल्ने गरेको सुनाउँदै पहाडी क्षेत्रमा हल गोरु नै ठीक हुने उहाँको अनुभव छ । 

    “अहिले गाउँमा गोरु पाल्ने किसान निकै कम छन्, पहिले प्रत्येकको घरमा एक हल गोरु हुन्थे, अहिले मिनिटेलर हलो छ, गोरुले जोत्दा खेतीपाती सप्रिन्थ्यो, उत्पादन राम्रो हुन्थ्यो, तर अहिले धान, गहुँ, मकै कम उब्जनी हुन्छ”, उहाँले भन्नुभयो, “सुरुसुरुमा गाउँमा मिनिटेलर आउँदा प्रयोग गरियो, तर उत्पादन घटेपछि अहिले त ओल्लोपल्लो गाउँमा गएर भए गोरु खोजेरै जोत्ने गरेको छु ।”

    बढ्दो यान्त्रिकीकरण सँगै गोरु पाल्ने चलन हराउँदै गएपछि बागलुङ नगरपालिकाले हल गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्न थालेको छ । अघिल्लो वर्षदेखि नै किसानले रु पाँच हजारका दिन थालेको हो । 

    गत वर्ष नगरपालिकाले ८१ किसानलाई प्रोत्साहन रकम प्रदान गरेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । हाते ट्रयाक्टर तथा प्रविधिको बढ्दो प्रयोगका कारण पुस्तौँदेखि चल्दै आएको गोरुले जोत्ने परम्परा पनि हराउँदै गएकाले त्यसको संरक्षणका लागि हल गोरु पाल्ने किसानलाई प्रोत्साहन गरिएको उहाँको भनाइ छ । 

    नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “आधुनिकीकरणको नाममा हाम्रो परम्परागत खेती प्रणालीलाई अन्त्य गर्नुहुँदैन, आवश्यकताको आधारमा हेरेर आधुनिकीकरण गर्ने हो, व्यावसायिक खेती गर्न परम्परागत खेती गर्नका लागि हल गोरु नै राम्रो हुन्छ, नगरपालिकाले प्रोत्साहन गर्न थालेपछि किसान पनि खुसी हुनु भएको छ ।”

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend