काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको पक्राउविरुद्ध दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले असार १६ गते सुनुवाइ गर्ने भएको छ।
पौडेलकी पत्नी दोमाया पौडेलले असार १० गते सर्वोच्च अदालतमा रिट दायर गर्दै आफ्ना श्रीमान्लाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गरेकी थिइन्। उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको इजलासले महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्दै असार १६ गतेका लागि सुनुवाइको मिति तोकेको हो।
यसअघि अदालतले सम्बन्धित निकायलाई पक्राउ र हिरासतको कानुनी आधार स्पष्ट पार्न निर्देशन दिएको छ। अब महान्यायाधिवक्ताको कार्यालयबाट प्राप्त हुने जवाफपछि सर्वोच्चले हिरासतको वैधानिकताबारे थप सुनुवाइ गर्नेछ।
उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। त्यसपछि असार ९ गते उनलाई विशेष अदालत काठमाडौंमा उपस्थित गराइएको थियो।
विशेष अदालतले अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धान अघि बढाइरहेको छ।
रिटमार्फत पौडेल पक्षले पक्राउ प्रक्रिया र हिरासतलाई गैरकानुनी भएको दाबी गर्दै तत्काल रिहाइको माग गरेको छ भने सरकारी पक्षले अनुसन्धान कानुनसम्मत रूपमा अघि बढाइएको बताउँदै आएको छ।
अब असार १६ गते हुने सुनुवाइले पौडेलको हिरासतको वैधानिकता तथा बन्दीप्रत्यक्षीकरण रिटको भविष्यबारे महत्वपूर्ण कानुनी दिशा तय गर्ने अपेक्षा गरिएको छ।




.gif)





