चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन शाह आइतबार चितवन आइपुगेका छन् ।महाधिवेशनको उद्घाटन र बन्दसत्रमा सहभागी हुन उनी श्रीमती र छोरीसहित चितवन आएका हुन् ।चितवन बसाईका क्रममा प्रधानमन्त्री शाह कालिका नगरपालिका–९ शक्तिखोरस्थित नवनिर्मित पाँचतारे ‘लटौली स्याङ्चुअरी रिसोर्ट’ मा बस्ने व्यवस्था मिलाइएको छ ।उद्घाटनका लागि चितवन आएका शाह सपरिवारसहित शक्तिखोरस्थित लटौली रिसोर्टमा पुगेका छन् ।प्रधानमन्त्रीको टोलीका लागि उक्त रिसोर्ट असार ६ गतेदेखि ११ गतेसम्मका लागि पूर्ण रूपमा बुक गरिएको छ ।
यस्तो छ प्रधानमन्त्री बस्ने रिसोर्ट र खर्च
गत वैशाखदेखि मात्र सञ्चालनमा आएको लटौली रिसोर्टमा कूल १६ वटा कोठा रहेका छन् ।स्रोतका अनुसार तीमध्ये १३ वटा कोठामा पाहुनाहरू बस्नेछन् भने बाँकी ३ वटा कोठा आवश्यकताअनुसार प्रयोग गरिनेछ ।रिसोर्टको वेबसाइटका अनुसार यहाँको एउटा सुइट रुमको मूल्य एक रातको झन्डै २२५ डलर (करि ३३ हजार नेपाली रुपैयाँ) सम्म पर्छ भने सबैभन्दा सस्तो कोठाको मूल्य प्रतिदिन १९ हजार ५ सय रुपैयाँ रहेको छ ।
प्रधानमन्त्रीको टोलीका लागि लटौलीका साथै सोही कम्पनीले सञ्चालन गरेको नजिकैको ‘भ्युरानकोट रिसोर्ट’ का थप १४ वटा कोठा पनि बुक गरिएको छ । महाधिवेशन स्थलबाट झन्डै २० किलोमिटर उत्तर–पूर्वमा अवस्थित यो रिसोर्ट क्षेत्र निकै शान्त र आकर्षक मानिन्छ ।प्रधानमन्त्रीको सुरक्षाका लागि शनिबारदेखि नै नेपाली सेना र नेपाल प्रहरीको टोली रिसोर्टमा परिचालन गरिएको छ । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै रिसोर्टको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ ।
सुरक्षा र गोपनीयता कायम राख्न रिसोर्टका सबै सीसीक्यामेराहरू बन्द गरिएको छ । रिसोर्टमा कार्यरत झन्डै ४५ जना कर्मचारीमध्ये अधिकांशलाई ४ दिनका लागि बिदा दिइएको छ भने किचन र हाउसकिपिङमा गरी सीमित कर्मचारी मात्रै राखिएको छ । कार्यरत कर्मचारीहरूलाई पनि फोटो र भिडियो खिच्न सख्त मनाही गरिएको छ भने कार्यस्थलमा मोबाइल फोन समेत लैजान रोक लगाइएको छ ।रिसोर्टमा प्रधानमन्त्री बालेन शाहको साथमा गृहमन्त्री सुदन गुरुङ, रास्वपा महामन्त्री भुपदेव शाह, नेता सुनिल लम्साललगायत बालेन पक्षका शीर्ष नेताहरू बस्ने बताइएको छ ।




.gif)





