काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले रोमाञ्चक जित हात पारेको छ। ओमानको अल अमेरातस्थित क्रिकेट मैदानमा भएको खेलमा नेपालले १० रनले जित निकाल्दै आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउन सफल भएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २८० रन बनाएको थियो। नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रन मात्रै बनाउन सक्यो।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ८० रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ६९ रनको योगदान दिए। ओमानका शाह फैसल र समय श्रीवास्तवले समान दुई–दुई विकेट लिए।
नेपालले जोगायो ओडीआई मान्यता
विश्वकप लिग–२ अन्तर्गत नेपालको यो अन्तिम खेल थियो। लिग–२ का ३५ खेलमध्ये १३ खेलमा जित निकाल्दै नेपाल अंकतालिकाको सातौँ स्थानमा थियो। ओडीआई मान्यता जोगाउन नेपालले ओमानविरुद्धको खेल जित्दै अंकतालिकाको छैटौँ स्थानमा उक्लिनुपर्ने दबाब थियो।
ओमानलाई पराजित गरेसँगै नेपालले कुल ३० अंक जोड्दै छैटौँ स्थान सुरक्षित गरेको छ। यसअघि छैटौँ स्थानमा रहेको क्यानडाको २९ अंक मात्रै रहेकाले नेपालले उसलाई पछि पार्दै आफ्नो ओडीआई मान्यता कायम राख्न सफल भएको हो।
नेपालका लागि यो जित केवल एक खेलको सफलता मात्र नभई अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा आफ्नो स्थान सुरक्षित गर्ने महत्त्वपूर्ण उपलब्धि बनेको छ।




.gif)





