काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल विद्युत प्राधिकरणसँग उपभोक्तासँग प्रत्यक्ष सम्बन्धित मिटर, ट्रान्सफर्मर लगायतका उपकरणहरूको मौज्दात र आपूर्ति अवस्थाबारे विस्तृत जानकारी लिएका छन् ।नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकका क्रममा मन्त्री श्रेष्ठले उपभोक्ताबाट यी उपकरण सहज रूपमा नपाइएको गुनासो बढेपछि आपूर्ति व्यवस्थापनबारे व्यवस्थापनसँग छलफल गरेका हुन् ।बैठकमा प्राधिकरण व्यवस्थापनले खरिद प्रक्रियामा केही प्राविधिक तथा प्रशासनिक चुनौती देखिए पनि हाल पर्याप्त मौज्दात रहेको र थप आपूर्ति नियमित रूपमा भइरहेको जानकारी दिएको छ । साथै, अब उपभोक्तालाई उपकरण अभाव नहुने सुनिश्चित गरिएको प्राधिकरणले जनाएको छ ।
त्यसैगरी, मन्त्री श्रेष्ठले देशभर सञ्चालनमा रहेका विद्युत प्राधिकरणका आयोजनाहरूमा पारदर्शिता अभिवृद्धि गर्न सूचनापाटी राख्न निर्देशनात्मक सुझाव दिएका छन् ।उनका अनुसार सूचनापाटीमा आयोजनाको कुल लागत, निर्माण अवधि, निर्माण कम्पनी, परियोजना प्रमुख तथा सूचना अधिकारीको नाम र सम्पर्क विवरण अनिवार्य रूपमा उल्लेख हुनुपर्नेछ ।मन्त्री श्रेष्ठले यस्ता व्यवस्थाले आयोजनामा पारदर्शिता बढ्ने र नागरिकले सहज रूपमा जानकारी प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् ।बैठकमा ऊर्जा क्षेत्रका अन्य चालु परियोजनाको प्रगति, समस्या तथा आगामी कार्ययोजनाबारे पनि छलफल भएको थियो ।




.gif)



