काठमाडौं, २९ जेठ । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.०० अंकले घटेर २७२४.०३ विन्दुमा बन्द भएको छ। सेन्सेटिभ इण्डेक्स पनि ०.५३ अंकले घटेको छ।
नेप्सेमा सामान्य गिरावट आए पनि कारोबार रकम भने बढेको छ। शुक्रबार ३४२ कम्पनीको ९८ लाख ५६ हजार कित्ता शेयर ४ अर्ब ३४ करोड १० लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ।
यस दिन सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ भने ग्रीन डेभलपमेन्ट बैंकको शेयर १३ प्रतिशतभन्दा बढीले बढेको छ। यता कालिञ्चोक हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक १०.६६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स शीर्ष स्थानमा रहँदा सिटी होटल र आँखुखोला जलविद्युत कम्पनी पनि उच्च कारोबार हुने कम्पनीमा परेका छन्। १३ उपसमूहमध्ये ४ उपसमूह बढ्दा ९ उपसमूह घटेका छन्।




.gif)





