नवलपुर (नवलपरासी),विश्व लगानी सप्ताह–२०२४ को अवसर पारेर नेपाल धितोपत्र बोर्ड र जिल्ला उद्योग वाणिज्य संघ नवलपुरले लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम गरेका छन् । नेप्से ब्रोकर सनी सक्युरिटिज लिमिटेड सँगको सहकार्यमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोटमा आयोजित कार्यक्रममा सेयर बजारमा सुरक्षित लगानी कसरी गर्ने भन्नेबारे शिक्षा प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका निर्देशक विनोद पौडेलले बजारको अनियन्त्रित गतिविधिलाई बोर्डले नियन्त्रण गर्ने बताए । उनले व्यवसायको प्रवद्र्धन र लगानीकर्ताको हित संरक्षण गर्नु आफूहरुको दायित्व भएको बताए । “लगानीकर्ताको हित संरक्षण गर्दै बजारमा पुँजी वृद्धि गर्ने हाम्रो उद्देश्य हो”, उनले भने, “लगानीकर्ताले सेयर लगानी गर्दा बुझेर तथा गहन अध्ययन गरेर लगानी गर्दा ठगिने सम्भावना रहँदैन ।”
कुनै व्यक्तिले ठगी गरिरहेको भए नेपाल धितोपत्र बोर्डमा उजुरी गर्न आग्रह गर्दै उनले त्यस्ता व्यक्तिलाई कारवाहीको दायरामा ल्याइने बताए । ब्रोकरहरुले समेत आफ्नो दायित्व निर्वाह नगरेको गुनासो आउने गरेको भन्दै सेयर खरिद बिक्रीको रकम तत्काल भुक्तानी गर्न उनले निर्देशन दिए । “सेयर बिक्री गर्ने व्यक्तिलाई ब्रोकरले सेयर बेचेको ४ दिनभित्र पैसा भुक्तानी गर्नुपर्छ”, उनले भने, “यदि कसैले भुक्तानी गरेको छैन भने हामीकहाँ जुनसुकै माध्यमबाट उजुरी दिए हामी तत्काल कारवाही गर्छौं ।”
सेयर खरिदकर्ताले समेत आफूले खरिद गरेको सेयरको भुक्तानी भोलिपल्ट नै तिर्नु समेत उनले आग्रह गरे । बजार बुझेर लगानी गर्दा लगानी डुब्ने सम्भावना नहुने भन्दै अरुको उक्साहटमा नलाग्न समेत पौडेलले आग्रह गरे।
कार्यक्रममा स्रोत व्यक्ति एवं स्टक मार्केटका विद्या वारिधि शोधकर्ता कुलचन्द्र पण्डितले सेयर बजारमा मुनाफा आर्जन गर्न लामो समय सम्म पर्खनु पर्ने अवस्था रहेको बताए । अधिकांश लगानीकर्ता चाँडै कमाउने भनेर सेयर बजारमा आउने गरेको भन्दै ५ वर्षको अध्ययन गर्दा ३ प्रतिशत लगानीकर्ताले मात्रै कमाउने गरेको पण्डितले बताए । “५ वर्ष सम्म सेयर बजारमा टिकेका व्यक्ति मध्ये ३ प्रतिशतले कमाउँछन्, ८ प्रतिशत बराबरीमा रहन्छन् तर ८९ प्रतिशत लगानीकर्ताले गुमाउँछन्”, उनले भने, “लगानी गर्न लागेको कम्पनीको बारेमा अध्ययन गरेर लगानी नगर्दा धेरैले गुमाउनुपर्ने अवस्था छ ।”
सेयर बजारमा कमाउन आउने भए पनि गुमाउनेको संख्या धेरै भएको उनले बताए । नेपालको सेयर बजार हल्लाका कारण घटबढ हुने गरेको भन्दै यस देशको राजनीति स्थिर भएको अवस्थामा लगानी डुब्ने सम्भावना कम हुने बताए । सेयर बजारमा लगानी गरेपछि निरन्तर किनबेच गरिरहेको अवस्थामा मात्रै कमाउन सकिने भन्दै लागनीकर्ताहरुमा अनुशासन हुनुपर्ने पण्डितको भनाइ छ ।
गैंडाकोट नगरपालिका प्रमुख मदन भक्त अधिकारीले पैसा बैंकमा राख्न भन्दा सेयरमा लगानी गर्न अथवा आफैं उद्यमी बन्न नगरवासीलाई आग्रह गरे । कार्यक्रममा सहभागीले राखेका जिज्ञासा धितोपत्र बोर्डका निर्देशक पौडेलले समाधान गरेका थिए । कार्यक्रममा गैंडाकोटभित्रका उद्यमी तथा लगानीकर्ताको सहभागिता रहेको थियो । रासस




.gif)





