images

२०८३ आश्विन १६ गते

images
images
images

मादलको तालबाट देशविदेशसम्म: संगीतकार मंगल वि.क.को प्रेरणादायी यात्रा

मादलको तालबाट देशविदेशसम्म: संगीतकार मंगल वि.क.को प्रेरणादायी यात्रा

images
images
आइतवार, जेठ १७ २०८३
आइतवार, जेठ १७ २०८३
  • काठमाडौं- बुद्धिबल वि.क. र मिठीमाया वि.क.को कनिष्ठ पुत्रका रुपमा दुईवीस वर्षअघि लम्जुङको जिता ९ मा जन्मनुभएका मंगल वि.क. त्यहाँको गाउँबस्ती र विद्यालयबाट भरतपुर १६ शान्तिदीप टोल हुँदै देशविदेशका अनेक शहरमा पुगेको नाम हो । केही दशकदेखि विदेश नगएको नेपालीको घर भेट्न गाह्रो छ । विदेश जानु ठूलो कुरो होइन । तर, यो भरतपुर १६ का बस्तीमा बस्ने हस्तीहरुको कथाको सुरुवाती श्रृङ्खला हो ।नारायणघाट शहरबाट १० किलोमिटर सेरोफेरो दक्षिण पश्चिममा अवस्थित गाउँ भन्न मिल्ने यस वडामा करिब २० हजार हाराहारीको जनसंख्या छ । तर ती सबै मंगलजस्ता प्रतिभाशाली देखिएका छैनन् । देखिएका केहीमध्ये उनको स्थान अलग छ ।

    images
    images

    उनकै भनाइलाई पछ्याउँदै मादलभन्दा सानो हुँदाखेरि नै घरपरिवार र स्कुलको प्रेरणाले मादल बजाउन सुरु गरेदेखि अहिलेसम्म मादललाई छोडेका छैनन् । सबैजसो वाद्यवादनमा पोख्त मंगलको मंगलकार्यको सम्मानका लागि प्राथमिकताको पहिलो नंबरमा पर्ने सौभाग्य जुरेको हो । ललितकला क्याम्पस हुँदै भारतमा समेत संगीत शिक्षा आर्जन गरेर संगीत साधनालाई निरन्तरता दिएका छन् । गीत लेख्ने, नाच्ने गाउने र बजाउने कलाका सशक्त प्रतिभा मंगलले जीवनलाई संगीतबाट सार्थक तुल्याउएका छन् ।आफ्नै स्वरमा केही एल्बम निकाल्नुभए पनि उनले आफूलाई गायकभन्दा संगीतकार भन्न रुचाउछन् । दुई सय भन्दा बढी गीतमा संगीत भर्नुभएका मंगलले रेकर्डिष्टका रुपमा पनि काम गरेर रेकर्डिङ प्रविधिमा प्राविधिक दक्षता देखाएका थिए । गीत संगीतका सबैजसो विधामा कर्म गर्ने ल्याकत बनाएका उनको हँसिलो अनुहारसँगैको नरम बोली व्यवहार, लगनशिलता र इमानदारिताले प्रतिभालाई चन्द्रमामा चाँदनी लगाइदिएको छ ।लोकगीतलाई माया गर्दै नारायण गोपालका आधुनिक गीतका फ्यान मंगलको खुबी आधुनिक गीत गाउन र संगीत भर्न सक्नु पनि हो ।

    उनका केही गीतका एल्बमहरूमध्ये तनहुँ बन्दिपुर, पच्छ्याउनलाई छाड्यो छायाले, सधै ठेस लाग्छ, चन्द्र सुर्य, म तिमीलाई माया गर्छु, हे कान्छी, सिम सिम पानीले, फर्क परदेशी, गल्ति, पैसा पैसा, मेरो लम्जुङ सुनेर पनि उनको प्रतिभा चिन्न थप सहयोग पुग्नेछ ।संगीत साधना र सामाजिक भावनाले ओतप्रोत मंगलले लम्जुङ सेवा समाज कतारद्वारा सम्मानित हुन पाएको खुशी मात्र साटेनन् विभिन्न अवार्ड र पूर्वराष्ट्रपतिबाट सम्मानित भएको हर्ष पनि बाँडेका छन् । कहिले दोहोरी साँझको मनोरञ्जनमा त कहिले महोत्सवहरुको माहोलमा रमाउँदै विदेश बसाइको जीवन भोग्नुभएका उनले संभवतः अबका केही वर्ष पारिवारिक वातावरणको आनन्द लिदै यतै समय बिताउने बताएका छन् ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र दलित एकता सञ्जालमा आबद्ध उनले संगीतकारको भूमिकामा देशमा कर्णालीका केही जिल्ला छोडेर अन्य सबैजसो जिल्लाका कार्यक्रममा आफ्नो प्रस्तुति दिइसकेका छन् ।

    images
    images

    विदेशमा कतार, युएइ, युरोपका आधा दर्जन देश, जर्जीया, थाइल्यान्ड र भारत लगायतका देशमा पनि संगीत कार्यक्रममै आफ्नो प्रतिभा प्रष्फुटन गरेका छन् ।आफ्नो लगाव अनुसारको कर्म गर्दा लागेको खुशी र मिलेको सन्तुष्टिमा कसैले विश्वासघात गर्दा असाध्यै दुःख लाग्ने उनको धारणा छ ।मंगलको विचारमा अग्रजलाई सम्मान, समकालीनलाई माया र नयाँलाई प्रोत्साहन गर्नुपर्ने खाँचो हिजो पनि थियो आज पनि छ र भोलि पनि रहनेछ ।घर छोडेर पर पुगेर गीत संगीतको रस्वादनमा रमाउनुभएका उनि अहिले भरतपुर १६ शान्तिदीप टोल अर्थात आफ्नै गाउँघरमा घरपरिवारसँग मात्र रमाएका छैनन्, स्कुलका नानीबाबुलाई संगीत सिकाउँदै स्कुलमा रमाएका छन् । स्थानीय संघसंस्थाको अनुरोधमा स्थानीयलाई मादल सिकाउँदै मादलको तालसँगै स्थानीय छिमेकीसँग मानप्रतिष्ठासहित रमाएका उनि तै पनि आफू जन्मे हुर्केको लम्जुङको माया र त्यहाँ बिताएको बालापन उनका लागि मीठो आनन्द हो रे ।चर्चित गायक उदित नारायण झा सँंगको सहकार्यमा संगीतकर्म गर्ने इच्छा जताएका उनको इच्छा छिट्टै पूर्ण होस् भन्दै सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend