काठमाडौं । गत आइतबार साँझ परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका-२, ज्यामरुककोटको गौश्वारा र तमानेमा ३ सय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट भएको छ ।
स्थानीय जनप्रतिनिधि र कृषि प्राविधिकको टोलीले तीन दिन लगाएर गरेको मूल्याङ्कनअनुसार सबैभन्दा बढी क्षति गौश्वारा र तमानेमा भएको पाइएको हो । टोलीले बिहीबार साँझ क्षतिको विवरण सार्वजनिक गरेको हो । बेनी–२ का वडासदस्य चन्द्रकान्त रिजालले दिएको जानकारीअनुसार असिनापानीले खेतमा पाक्नै लागेको धान र कोदोमा क्षति पुर्याएको छ । असिनापानीले धान बालीमा क्षति भएपछि कृषि प्राविधिकसहित जनप्रतिनिधिको टोली क्षतिको विवरण संकलन गर्न खेतमा पुगेको थियो ।
असिनापानीले सबैभन्दा बढी क्षति ज्यामरुककोटको गौश्वारामा भएको बेनी–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताए । 'गौश्वारामा गरिएको धानखेतीमा असिना पानीले ८० प्रतिशतसम्म दाना झारेको पाइएको छ, अधिकांश ठाउमा धानको दाना झरेर पराल मात्र बाँकी रहेको भेटिएको छ । किसान अहिले दाना झरेर बाँकी रहेको पराल काटिरहेका छन् । पीडित किसानलाई क्षतिपूर्ति वा राहतका लागि सम्बन्धित निकायमा अनुरोध गर्नेछौँ,' उनले भने ।
असिनापानीले बेनी–२, ज्यामरुककोटको सानालेख, गौश्वारा, तमाने, फापरखेत, खबरा, बगरफाँट, वडा नम्बर ३ भकिम्लीको तोराखेत, वडा नम्बर १ को अर्जम, रत्नेचौरलगायत ठाउँमा काटेर खेतमा सुकाएको र काट्न बाँकी रहेको धानमा क्षति भएपछि किसान चिन्तित बनेका बेनी–२ का वडासदस्य रिजालले बताए । उनका अनुसार असिनासहितको वर्षाले झाँट्न ठिक्क पारेको धान खेतमा नै झारिदिएको छ । त्यसैगरी नकाटेको धानका बोट ढालेको छ । दाना सबै झरेर पराल मात्र बाँकी रहेको स्थानीय किसान सन्तबहादुर नेपालीले बताए । भित्र्याउने समयमा पानीले क्षति पुर्याइदिएपछि किसानहरू चिन्तित भएको बेनी नगरपालिका–२, सानालेखका नारायण शर्माले बताए ।
'धानकोे एउटा बोट पनि ठाडो छैन, खेतैभरि पानी भरिएको छ,' उनले भने, 'एक-दुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिएपछि अब वर्षभरि के खाने हो ?' जिल्लाको ज्यामरुककोट, खबरा, बगरफाँट, पुलाचौर, सीम, बाबियाचौर, अर्मनलगायत स्थानमा लगाएको बालीमा क्षति भएको हो । कृषि ज्ञान केन्द्र कार्यालय प्रमुख सञ्जीव बाँस्तोलाले जिल्लाका स्थानीय तहहरूले क्षतिका विवरणहरू संकलन गर्ने काम गरिरहेकाले एकीकृत तथ्यांक कार्यालयमा नआइपुगेको बताए ।




.gif)





