images

२०८३ आश्विन १६ गते

images
images
images

धान खेतमा पहिलो पटक मखना खेती

धान खेतमा पहिलो पटक मखना खेती

images
images
शनिवार, जेठ १६ २०८३
शनिवार, जेठ १६ २०८३
  • भद्रपुर (झापा), १६ जेठ । धान खेतीका लागि परिचित झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकवलमा पहिलो पटक व्यावसायिक रूपमा मखना खेती सुरु गरिएको छ । 

    images
    images

    पानीमा फल्ने कमल प्रजातिको पौष्टिक खाद्य पदार्थ मखनाको खेती युवा कृषकले नेपालमै पहिलो पटक ठूलो क्षेत्रफलमा थालेपछि यतिबेला यो खेती स्थानीयको चासोको विषय बनेको छ । कचनकवल गाउँपालिका–४ केचनाका ३९ वर्षीय कृषक चन्द्र राजवंशीले भारतको विहारबाट प्रविधि सिकेर २० बिघा क्षेत्रफलमा मखना खेती सुरु गर्नुभएको हो । धान र मकै खेती हुने खेतमा पानी जमाएर गरिएको यो खेती अहिले झापामै नयाँ र फरक कृषि अभ्यासका रूपमा हेरिएको छ ।

    राजवंशीले १० वर्षका लागि प्रतिविघा ३० मन धान बराबरको रकम अग्रिम भुक्तानी गरेर भाडामा लिएको जमिनमा मखना खेती सुरुआत गरेको बताउनुभयो । 

    images
    images

    “भारतको सीमावर्ती क्षेत्रमा मखना खेती मनग्य आम्दानी दिने खेतीका रूपमा विकास भइरहेको देखेपछि नेपालमा पनि यसको सम्भावना खोज्ने सोच आयो,” उहाँले भन्नुभयो, “जोखिम भए पनि नयाँ खेतीको परीक्षणस्वरूप ठूलो लगानी गरेर सुरु गरेको हुँ ।”

    मखना पानीमा फल्ने कमल प्रजातिको वनस्पति हो । यसको फराकिलो पात काँडाले ढाकिएको हुन्छ भने पातको बीचभागबाट फूल र फल लाग्ने गर्दछ । वैशाख अन्तिम सातादेखि फूल लाग्न सुरु हुने मखना साउन अन्तिम सातादेखि पाक्न थाल्ने कृषक राजवंशी बताउनुहुन्छ । उहाँका अनुसार मखना खेतीका लागि सुरुआतमा धेरै मेहनत आवश्यक पर्छ । 

    “पुस महिनादेखि खेत खनजोत सुरु हुन्छ,” उहाँले भन्नुभयो, “मिहिन रूपमा खेत तयार गरी बलिया आली बनाइन्छन् र निरन्तर पानी जमाइन्छ ।” 

    आठ महिनापछि मात्रै उत्पादन प्राप्त हुने भएकाले यो खेती धैर्यता र लगानी दुवै चाहिने खेतीका रूपमा रहेको राजवंशीको अनुभव छ । उहाँले बिउदेखि प्रविधिसम्म भारतबाट ल्याएर खेती सुरु गर्दा हालसम्म करिब रु १४ लाख खर्च भइसकेको बताउनुभयो । उत्पादित मखना भारत निर्यात गर्न पाए प्रतिविघा रु तीन लाखसम्म नाफा लिन सकिने उहाँको अनुमान छ ।

    कृषक राजवंशीका अनुसार नेपालमा हालसम्म व्यावसायिक रूपमा मखना खेती सुरु नभएकाले यसको बजार व्यवस्थापन र सरकारी नीतिबारे स्पष्ट व्यवस्था छैन । उत्पादनपछि बजारीकरण तथा निर्यात प्रक्रियामा सहजीकरण आवश्यक रहेको उहाँको भनाइ छ । मखना खेती सुरु भएपछि कचनकवल क्षेत्रमा आन्तरिक चासोसमेत बढ्न थालेको स्थानीयवासी बताउँछन् । 

    स्थानीय खुसी राजवंशीका अनुसार अनौठो खेती भएकाले हेर्नकै लागि दैनिक धेरै किसान खेतसम्म पुग्ने गरेका छन् । “धान खेतमा पानी जमाएर फरक प्रकारको खेती गरिएको देख्दा धेरैलाई उत्सुकता लागेको छ,” उहाँले भन्नुभयो ।

    मखना धार्मिक तथा स्वास्थ्य दुवै दृष्टिले महत्वपूर्ण खाद्य पदार्थका रूपमा चिनिन्छ । हिन्दू धर्ममा पूजापाठमा प्रसादका रूपमा प्रयोग गरिने मखना नेपालमा मुख्यतः भारतबाट आयात हुने गरेको छ । पोषणविद्का अनुसार मखनामा प्रोटिन, फाइबर, क्याल्सियम, आइरन, म्याग्नेसियम, पोटासियम र भिटामिन ‘सी’ प्रशस्त मात्रामा पाइन्छ । 

    स्वास्थ्यका दृष्टिले लाभदायक मानिने मखानालाई ‘सुपर फुड’ तथा ‘अर्गानिक खाद्य’ समेत भनिने कृषक राजवंशी बताउनुहुन्छ । रासायनिक मल तथा विषादीको प्रयोगबिना उत्पादन गर्न सकिने भएकाले यसको माग भारतसहित अन्तर्राष्ट्रिय बजारमा पनि बढ्दो रहेको उहाँले बताउनुभयो । कृषक राजवंशीले सरकारी सहयोगबिना आफ्नै लगानीमा बोरिङ जडान गरेर खेती गरिरहनुभएको छ । मखनाले उचित बजार पाउन सके आगामी वर्षदेखि यो खेती अझै विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend