काठमाडौं । सरकारी निकायबीच एक आपासमा समन्वय नगरी काम गर्दा काठमाडौं उपत्यकाभित्र विछ्याइएका खानेपानीको पाइप लाइनमा क्षति भएको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले तयार पारेको ६३औं वार्षिक प्रतिवेदनअनुसार अन्तरनिकायबीच समन्वय नगरी काम गर्दा खानेपानी लाइनमा ६ करोड ५९ लाख ६८ हजार बराबरको क्षति भएको पाइएको हाे ।क्षति भएको रकम बराबरको शोध भर्ना लिनुपर्नेमा त्यस वापतको रकम प्राप्त हुनसकेको छैन । काठमाडौं उपत्यकामा विच्छ्याइएको पाइपमा सडक, विद्युत्लगायतका कार्य गर्दा पाइपमा क्षति पुगेको थियो । विवरणअनुसार नेपाल विद्युत् प्राधिकरणले काम गर्दा १ करोड ६७ लाख ५७ हजार बराबरको क्षति पुगेको हाे । यस्तै, सडक विभागले आवश्यक काम गर्दा २ करोड ८० हजार, ललितपुर महानगरपालिकाले आवश्यक काम गर्दा १ करोड १२ लाख ७३ हजार र अन्य निकायका तर्फबाट १ करोड ७१ लाख ३८ हजार बराबरको क्षति पुगेको हाे।
यसैगरी एक निर्माण व्यवसायीसँग ठेक्का सम्झौता अन्त्य गरी नयाँ सम्झौता गरिएको सन्दर्भमा कार्यसम्पादन जमानत र पेश्कीसमेत गरी २ अर्ब ५९ करोड ९९ लाख असुल गर्ने गरी निर्णय भएको थियो । सो निर्णय बमोजिम उक्त रकम असुल नभएकामा महालेखाले प्रश्न उठाएको छ ।काठमाडौं उपत्यकाको कोड्कु, सल्लाघारी, धोबिघाटमा फोहोर पानी प्रशोधन केन्द्र निर्माणका सन्दर्भमा एक निर्माण व्यवसायीसँग ठेक्का तोडेर अर्को ठेक्का गरेको थियो । सुरुमा एक विदेशी कम्पनीसँग ३ अर्ब ४६ करोड ९६ लाखमा सम्झौ भएको थियो । सो कम्पनीले ७८ करोड ७७ लाख २५ हजार बराबरको कार्य सम्पन्न भएको थियो ।तोकिएको समयमा काम नभएपछि ठेक्का सम्झौता अन्त्य गरी पुन: नयाँ निर्माण व्यवसायी छनौट गरिएको थियो । नयाँ व्यवसायी छनोट अघि ६ अर्ब ४७ करोड एक लाख बराबरको लागत अनुमान गरेकाे थियो ।




.gif)



