वासिङ्टन । अमेरिका र इरानबिच पाकिस्तानको इस्लामावादमा ऐतिहासिक शान्ति वार्ता चलिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानसँगको सम्झौताप्रति आफ्नो खासै चासो नरहेको बताएका छन्। ह्वाइट हाउसको चौरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले वार्ताको नतिजा जे आए पनि अन्तिममा अमेरिकाकै जित हुने दाबी गरेका हुन्।ट्रम्पले इस्लामावादबाट आफूले लगातार रिपोर्टहरू प्राप्त गरिरहेको र वार्ता लामो समयदेखि जारी रहेको जानकारी दिए। तर, उनले इरानसँगको सम्झौता हुनु वा नहुनुले आफूलाई कुनै फरक नपार्ने स्पष्ट पारे।
‘जे सुकै होस्, जित हाम्रै हुन्छ,’ ट्रम्पले भने, ‘हामीले त्यो देश (इरान) लाई पूर्ण रूपमा पराजित गरिसकेका छौँ।’ उनले इरानको वायुसेना, नौसेना र नेतृत्वलाई अमेरिकी सैन्य शक्तिले तहसनहस पारिसकेको दाबी समेत दोहोर्याए।इरानले अवरुद्ध पारेको विश्वकै महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज खुलाउन अमेरिकाले नै प्रयास गरिरहेको उल्लेख गर्दै ट्रम्पले अन्य देशहरूको कडा आलोचना गरे। उनले डराउने, कमजोर र लोभी देशहरूका लागि अमेरिकाले यो जोखिम उठाइरहेको बताए। यस क्रममा उनले नेटोले अमेरिकालाई कुनै सहयोग नगरेको भन्दै असन्तुष्टि समेत पोखे।




.gif)



