images

२०८३ आश्विन १७ गते

images
images
images
  • कृषि
  • व्यावसायिक तरकारीखेतीबाट परिवारको आर्थिक आधार मजबुत...

व्यावसायिक तरकारीखेतीबाट परिवारको आर्थिक आधार मजबुत बनाउँदै

व्यावसायिक तरकारीखेतीबाट परिवारको आर्थिक आधार मजबुत बनाउँदै

images
images
शुक्रवार, चैत्र २७ २०८२
शुक्रवार, चैत्र २७ २०८२
  • कञ्चनपुर, २७ चैत । शुक्लाफाँटा नगरपालिका–१० झलारीका रामसिंह डगौरा व्यावसायिक तरकारीखेतीमार्फत परिवारको आर्थिक आधार मजबुत बनाउँदै छोराछोरीको शिक्षामा लगानी गर्दै आउनुभएको छ ।

    images
    images

    उहाँले श्रीकृष्ण माध्यमिक विद्यालयको करिब डेढ बिघा जग्गा भाडामा लिएर विगत सात वर्षदेखि निरन्तर तरकारीखेती गर्दै आउनुभएको छ । जग्गा भाडाबापत विद्यालयलाई वार्षिक रु ५५ हजार बुझाउँदै आउनुभएका डगौराले बारीमा बाह्रै महिना मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आउनुभएको छ ।

    उहाँका अनुसार तरकारीखेतीबाट मासिक रु ५० देखि ७० हजारसम्म आम्दानी हुने गरेको छ भने वार्षिक आम्दानी रु १० लाखभन्दा बढी पुग्ने गरेको छ । बारीमा मुला, तोरैया, खुर्सानी, फर्सी, लौका, काँक्रा, बोडी, करेला, धनियाँ, बन्दा, सिमला मिर्च र गोलभेँडालगायत तरकारी उत्पादन गरिन्छ ।

    images
    images

    तरकारीखेती विस्तारका लागि उहाँले बैंकबाट रु १० लाख कर्जा लिइसक्नुभएको छ । तरकारीखेतीको आम्दानीले तीन जना छोराछोरीको उच्च शिक्षाको खर्च, बिरामी श्रीमतीको उपचार, बैंक ऋणको किस्ता तथा घरखर्च धान्दै आउनुभएको छ । “आम्दानीको आधाभन्दा बढी रकम छोराछोरीको पढाइमा खर्च हुन्छ”, उहाँ भन्नुहुन्छ, “सन्तानको भविष्य राम्रो बन्यो भने सम्पत्ति आफैँ जोडिन्छ”, त्यहीँ भएर सम्पत्ति जोड्नुभन्दा सन्तानकै शिक्षामा तरकारीखेतीबाट आर्जन गरेको रकम खर्च गर्दै आएको उहाँ बताउनुहुन्छ ।
     
    उहाँकी एक छोरीले आइएस्सी एजी उत्तीर्ण गरी काठमाडौँमा लोकसेवाको तयारी गरिरहेकी छिन् भने छोरा र अर्की छोरी होटल व्यवस्थापन विषयमा अध्ययनरत छन् । छोराछोरीबीच कुनै भेदभाव नगरी समान अवसर दिनुपर्नेमा आफू दृढ रहेको उहाँको भनाइ छ ।

    तरकारीखेतीमा उहाँकी श्रीमती सीमा डगौराले पनि साथ दिँदै आउनुभएको छ । उत्पादन भएको अधिकांश तरकारी बारीबाटै बिक्री हुने गरेको छ भने बाँकी महेन्द्रनगर बजारमा पुर्याएर बिक्री गरिन्छ । तरकारीसँगै डगौराले नर्सरीमा बिरुवा उत्पादन गरी बिक्री गर्ने काम पनि गर्दै आउनुभएको छ । यस वर्षमात्रै बिरुवाबाट रु दुई लाख ५० हजार आम्दानी भएको उहाँले बताउनुभयो ।

    कृषि ज्ञान केन्द्रमार्फत उहाँले दुईवटा प्लास्टिकका हाइटेक टनेल, बीउबिजन र सिँचाइका लागि पाइप अनुदानमा प्राप्त गर्नुभएको छ । व्यावसायिक किसानलाई राज्यले अझ प्रभावकारी सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । “सहुलियत दरमा कर्जा, समयमै मल, बीउबिजन र कीटनाशक पाइयो भने उत्पादन अझ बढाउन सकिन्छ”, उहाँले भन्नुभयो, “तर आवश्यक सामग्री समयमै नपाउँदा अपेक्षित उत्पादन गर्न कठिन हुन्छ ।” व्यावसायिक तरकारीखेतीले आम्दानीसँगै रोजगारी र आत्मनिर्भरता बढाउने उदाहरणका रूपमा डगौरा देखिनुभएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend