images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • खाने तेलको मूल्य नियन्त्रण गर्न सरकारको...

खाने तेलको मूल्य नियन्त्रण गर्न सरकारको तयारी

खाने तेलको मूल्य नियन्त्रण गर्न सरकारको तयारी

images
images
शुक्रवार, फाल्गुण २९ २०८२
शुक्रवार, फाल्गुण २९ २०८२
  • काठमाडौँ । पछिल्लो एक महिनामा नेपाली बजारमा खाना पकाउने तेलको मूल्य अस्वाभाविक रूपमा बढेपछि उपभोक्ता मारमा परेका छन्। पश्चिम एसियामा जारी द्वन्द्व र अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धिलाई कारण देखाउँदै व्यापारीहरूले प्रतिलिटर २० देखि ५० रुपैयाँसम्म भाउ बढाएका हुन्।

    images
    images

    माघको अन्तिम सातासम्म प्रतिलिटर २५० देखि २७५ रुपैयाँमा पाइने सूर्यमुखी तेल फागुनको मध्यसम्म आइपुग्दा २९० रुपैयाँभन्दा माथि पुगेको छ। बजारमा भाउ बढे पनि सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भने तुलनात्मक रूपमा सस्तो दरमा तेल बिक्री गरिरहेको जनाएको छ। कम्पनीका अनुसार हाल भटमासको तेल प्रतिलिटर २४० रुपैयाँ, सूर्यमुखी तेल २७५ रुपैयाँ तथा विभिन्न ब्रान्डका तोरीका तेल २५५ देखि ३६० रुपैयाँसम्ममा उपलब्ध छन्। तर निजी क्षेत्रका खुद्रा पसलहरूमा भने मूल्यवृद्धि अझै बढी देखिएको छ।

    किन बढ्यो तेलको मूल्य ।

    images
    images

    नेपाल चामल, तेल, दाल उद्योग संघका कार्यसमिति सदस्य विभोर अग्रवालका अनुसार अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य वृद्धि र ढुवानी मार्गमा देखिएको अवरोधले मूल्य बढाएको हो। उनका अनुसार अर्जेन्टिना र इन्डोनेसियाबाट कच्चा तेल बोकेर आउने ठूला जहाजहरू ढुवानी मार्ग अवरुद्ध हुँदा बाटोमै रोकिएका छन्।

    ‘अहिले विश्व बजारमा डलरको मूल्य बढेको छ र ढुवानी मार्गमा समस्या आउँदा धेरै जहाजहरू रोकिएका छन्,’ उनले भने। उनका अनुसार यसले आपूर्तिमा कमी ल्याउनुका साथै ढुवानी खर्चसमेत उल्लेख्य रूपमा बढाएको छ।

    नेपालमा धान र चामल छिमेकी भारतबाट सहजै आउने भए पनि खाने तेलका लागि तेस्रो मुलुकमा निर्भर रहनुपर्ने बाध्यता रहेको उनले बताए। अन्तर्राष्ट्रिय युद्ध र आपूर्ति शृङ्खलामा देखिएको अवरोधले नेपाली बजारमा महँगी बढेको उनको भनाइ छ।

    अन्तर्राष्ट्रिय बजारमा हाल कच्चा पाम तेल प्रतिटन ९५० देखि १ हजार डलरसम्ममा कारोबार भइरहेको छ। सोयाबिन तेल प्रतिटन ९८० देखि १ हजार ५० डलर र सूर्यमुखी तेल ९०० देखि ९५० डलर हाराहारीमा पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघ महिनाको तथ्याङ्कअनुसार घ्यू तथा तेलको मूल्यमा ७।६१ प्रतिशत वृद्धि भएको देखिएको छ भने फागुनमा यो दर अझै बढ्ने अनुमान गरिएको छ।

    अनुगमनमा सक्रियता

    बजारमा खाने तेलको अनियन्त्रित मूल्यवृद्धि र कालोबजारीको गुनासो बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन तीव्र पारेको छ। विभागका निर्देशक नरहरि तिवारीका अनुसार मूल्यवृद्धिको वास्तविक कारण पत्ता लगाउन सूक्ष्म अध्ययन र ‘भेरिफिकेसन’ भइरहेको छ।

    ‘अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलामा अवरोध आएको भनिए पनि हामी यसको गहिराइमा पुगेर अध्ययन गरिरहेका छौँ,’ उनले भने।

    उनका अनुसार बजारमा खाने तेलको मौज्दात पर्याप्त रहेकाले कृत्रिम अभाव सिर्जना गर्ने वा कार्टेलिङ गरी मूल्य बढाउने व्यवसायीलाई कडा कारबाही गरिनेछ। विभागले विशेष गरी तेलको मूल्य र मौज्दातलाई केन्द्रित गरेर बजार निरीक्षण गरिरहेको जनाएको छ।

    उपभोक्ता अधिकारकर्मीहरूले भने अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नुअघि नै मौज्दात रहेको तेललाई नयाँ मूल्य तोकेर बेच्ने प्रवृत्ति बढेको भन्दै सरकारले कडा कदम चाल्नुपर्ने माग गरेका छन्।

    कुन–कुन मुलुकबाट आयात हुन्छ तेल ।

    नेपालमा विभिन्न प्रकारका खाद्य तेल विश्वका विभिन्न मुलुकबाट आयात हुने गरेको छ। भटमास, सूर्यमुखी, पाम, जैतुन र तोरीलगायत तेलका लागि अर्जेन्टिना, इन्डोनेसिया, युक्रेन, चीन, भारत, ब्राजिल र मलेसियाजस्ता मुलुक प्रमुख स्रोतका रूपमा रहेका छन्।

    भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो सात महिना माघ मसान्तसम्म मा नेपालले ९३ अर्ब ७५ करोड ४६ लाख रुपैयाँ बराबरको खाने तेल आयात गरेको छ। त्यसमध्ये ७८ अर्ब १९ करोड ६२ लाख रुपैयाँ बराबरको तेलजन्य उत्पादन निर्यात भएको तथ्याङ्कमा उल्लेख छ।

    कच्चा भटमासको तेल आयातमा अर्जेन्टिनाको प्रभुत्व देखिएको छ। अर्जेन्टिनाबाट मात्रै ३७ करोड २४ लाख २७ हजार ८१९ लिटर भटमासको तेल आयात भएको छ। चीन, ब्राजिल, थाइल्याण्ड र युक्रेनबाट पनि उल्लेख्य परिमाणमा आयात भएको छ।

    सूर्यमुखी तेल आयातमा युक्रेन र अर्जेन्टिना मुख्य आपूर्तिकर्ता हुन् भने पाम तेलको आयातमा इन्डोनेसिया र मलेसियाको बाहुल्य छ। जैतुनको तेल स्पेन, टर्की, इटाली, साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्सजस्ता देशबाट आयात हुने गरेको छ।

    यस्तै तोरीको तेल मुख्यतः भारत र चीनबाट आयात हुने गरेको छ। अन्य विभिन्न वनस्पति तेल तथा बोसोहरू पनि विश्वका विभिन्न मुलुकबाट नेपाली बजारमा भित्रिने गरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend