काठमाडौँ । नेपाल राष्ट्र बैंक ले आज निक्षेप संकलन उपकरणमार्फत १ खर्ब रुपैयाँ बजारबाट झिक्ने भएको छ। बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) अत्यधिक भएपछि केन्द्रीय बैंकले उक्त कदम चालेको हो।
राष्ट्र बैंकका अनुसार आज ६ दिनका लागि १ खर्ब रुपैयाँ संकलन गरिनेछ। निक्षेप संकलनमा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्नेछन्।
पछिल्ला तीन वर्षदेखि राष्ट्र बैंकले सातामा दुईपटक आइतबार र बुधबार नियमित रूपमा बजारबाट पैसा झिक्दै आएको थियो। तर, भोलिदेखि निर्वाचनका कारण सार्वजनिक बिदा पर्ने भएकाले नियमित तालिका भन्दा फरक दिन (मंगलबार) करिब एक साताका लागि उक्त रकम झिक्न लागिएको जनाएको छ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।




.gif)





