फलाङ खाद्य शब्दकोशका लेखक शिव न्यौपाने द्वारा प्रस्तुत शेफ कृष्ण बहादुर जी.सी.को वास्तविक जीवन कथा
मेलबर्न, अष्ट्रेलिया। विश्वव्यापी खानाको क्षेत्रमा नेपाली पहिचान स्थापित गर्ने अभियानसँगै नेपालको पहिलो खाद्य शब्दकोश फलाङ खाद्य शब्दकोश का लेखक शिव न्यौपाने ले प्रस्तुत गर्नुभएको यो कथा हो—संघर्ष, मेहनत र आत्मविश्वासको ज्वलन्त उदाहरण, शेफ कृष्ण बहादुर जी.सी.को जीवन यात्रा।
सामान्य परिचय, शेफ कृष्ण बहादुर जी.सी.को जन्म प्यूठान जिल्लाको कोचिबाङ–बाराबिसेमा भएको हो। उहाँका बुबा विष्णु बहादुर जी।सी। र आमा मीना देवी जी.सी. हुनुहुन्छ। पछि परिवार दाङ उपमहानगरपालिका–३, बनझाडीमा बसाइँ सरेको थियो। सामान्य परिवारमा जन्मिएका कृष्ण बहादुरको बाल्यकाल अभाव र संघर्षले भरिएको थियो।
संघर्षबाट सुरु भएको यात्रा, १६ वर्षअघि उहाँ पनि आजका धेरै युवाजस्तै भविष्यबारे अन्योलमा हुनुहुन्थ्यो। गरिबीका कारण चप्पल समेत नहुँदा खुट्टामा बिजाइ लाग्ने ती दिनहरूले उहाँलाई एउटा प्रश्न सधैं सताइरहन्थ्यो—“पैसा कसरी कमाउने?”
पढाइ कम भएकाले राम्रो जागिरको अवसर सीमित थियो। त्यही बेला जेठा दाजुले भारतमा भाँडा माझ्ने कामको अवसर जुटाइदिनुभयो। त्यहीँबाट सुरु भयो उहाँको पाककला यात्रा।
भाँडा माझ्दै–माझ्दै उहाँले खाना पकाउने सीप सिक्न थाल्नुभयो। करिब तीन वर्ष घर नगई निरन्तर मेहनत गर्नुभयो। आमाको चिठी प्रत्येक ६ महिनामा आउँथ्यो, जसमा एउटै वाक्य दोहोरिन्थ्यो—“तँले आमालाई बिर्सिस्।” त्यो शब्दले उहाँलाई भावुक बनाउँथ्यो, तर त्यही पीडाले भविष्य बनाउन थप प्रेरणा पनि दियो।
त्याग, निरन्तरता र उपलब्धि, “केही पाउनका लागि केही त्याग गर्नैपर्छ” भन्ने सोचले उहाँलाई अघि बढायो। आज १६ वर्षको निरन्तर मेहनतपछि उहाँले आफू र परिवारलाई सम्मानजनक जीवन दिन सक्ने अवस्थामा पुग्नुभएको छ। उहाँको सन्देश स्पष्ट छ—
“अलग–अलग बाटो नछान्नुहोस्, एउटै लक्ष्य रोज्नुहोस् र निरन्तर मेहनत गर्नुहोस्।”
सामाजिक सञ्जालमार्फत प्रेरणा, संघर्षका अनुभव र सिकेका सीपहरू अरू नेपाली युवासँग बाँड्ने उद्देश्यले उहाँले सामाजिक सञ्जालमार्फत भिडियोहरू बनाउन थाल्नुभयो। पछि त्यही माध्यम आयआर्जनको स्रोत पनि बन्न सक्ने थाहा पाएपछि उहाँले अरूलाई पनि डिजिटल प्लेटफर्म प्रयोग गर्न प्रेरित गर्नुभयो।
कतिपयले उहाँका भिडियोहरूलाई गलत बुझेर आलोचना गरे पनि उहाँ भन्छन्, “म नेपाली दाजुभाइहरूको भलाइका लागि नै सिकेका सीप र अनुभव बाँडिरहेको छु। यदि कुनै कमजोरी भएको भए म क्षमा चाहन्छु, तर मेरो उद्देश्य सधैं सकारात्मक नै छ।”
शेफ कृष्ण बहादुर जी.सी.को जीवनकथा संघर्षबाट सफलता सम्भव छ भन्ने उदाहरण हो। गरिबी, अभाव र पीडालाई प्रेरणामा बदल्दै उहाँले देखाउनुभएको छ—सपना साना भए पनि मेहनत ठूलो हुनुपर्छ।
मेलबर्नदेखि विश्वव्यापी पाक क्षेत्रमा नेपाली पहिचान स्थापित गर्ने अभियानमा उहाँजस्ता संघर्षशील युवाहरूको कथा प्रेरणाको स्रोत बन्ने निश्चित छ।




.gif)





