काठमाडौँ, २५ माघ । बंगलादेशमा आगामी फेब्रुअरी १२ मा संसदीय निर्वाचन हुने भएको छ। यो निर्वाचन ३५ वर्षपछि देशले नयाँ प्रधानमन्त्री पाउने ऐतिहासिक अवसरका रूपमा हेरिएको छ।
तत्कालीन प्रधानमन्त्री शेख हसिना भारत पलायन भएपछि र पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनपछि पहिलोपटक बंगलादेशमा आम निर्वाचन हुन लागेको हो। सन् १९९१ देखि २०२४ सम्म शेख हसिना र खालिदा जियाले नै बंगलादेशको राजनीतिक सत्ता लगभग एकाधिकारजस्तै गरी सञ्चालन गर्दै आएका थिए।
यसपटकको निर्वाचनमा शेख हसिनाको पार्टी अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएको छ। सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनका क्रममा भएको हिंसामा पार्टीको संलग्नता रहेको ठहर गर्दै निर्वाचन आयोगले अवामी लिगलाई चुनावबाट वञ्चित गरेको जनाएको छ।
अल जजिराका अनुसार राजनीतिक विश्लेषकहरूले यो निर्वाचनले बंगलादेशको आन्तरिक राजनीतिसँगै दक्षिण एसियाको कूटनीति र शक्ति सन्तुलनमा समेत प्रभाव पार्न सक्ने बताएका छन्। यही कारण भारत, पाकिस्तान र चीनले पनि उक्त चुनावलाई नजिकबाट नियालिरहेका छन्।
सन् २०२४ अगस्टदेखि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा बंगलादेशमा अन्तरिम सरकार कार्यरत छ। राजनीतिक विश्लेषकहरूका अनुसार शेख हसिनाको पदच्युतपछि बंगलादेशको विदेश नीतिमा उल्लेखनीय परिवर्तन देखिएको छ।
भारतसँगको सम्बन्ध कमजोर भएको संकेत देखिएको छ भने पाकिस्तानसँगको सम्बन्ध सुधारोन्मुख बनेको छ। साथै, चीनसँग बंगलादेशको रणनीतिक साझेदारी अझ बलियो बन्दै गएको छ।




.gif)





