कांग्रेस नेताहरु सहकारी ठगीमा संलग्न माथि कारबाहीको विषय जोडतोडका साथ उठाउँदै आएका छन्।
कांग्रेसकै जोडबलमा संसदीय छानबिन समिति बनेको थियो। एमाले सांसद सूर्य थापा नेतृत्वको समितिले प्रतिवेदन बुझाएपछि प्रहरी एक्सनमा उत्रिसकेको छ। गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशी पक्राउ परिसकेका छन्, रास्वपा सभापति समेत रहेका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने पक्राउ पर्ने डरले कार्यकर्ता उचालिरहेका छन्।
तर, सहकारी ठगीमा संलग्नलाई कारबाहीको माग गर्ने कांग्रेस नेताहरुको रवैया भने अचम्मको छ। कांग्रेस नेता एवं पुर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहकारी ठगी मुद्दाका फरार अभियुक्त सँग मञ्च सेयर गरेका छन्।
कांग्रेस सुनसरीका नेता रहेका रेवतीरमण दुलाल अम्बे कोशी बचत तथा ऋण सहकारीको रकम अपचलन मुद्दामा फरार सूचीमा छन्। तर, उनी कांग्रेसको कार्यक्रममा देखिएका हुन्। पूर्वमन्त्री कार्की समेत रहेको कार्यक्रममा दुलाल मञ्चमै बसेका थिए। तर, फरार सूचीमा रहेका दुलाललाई मंगलबार प्रहरीले पक्राउ गरेन। हुन् त गृहमन्त्री पनि कांग्रेस नेता रमेश लेखक नै छन्। आफ्नै नेता गृहमन्त्री भएकाले दुलाललाई यसरी सार्वजनिक कार्यक्रममा जान आँट आएको होला। त्यो भन्दा ठूलो आँट कार्कीले देखाए फरार अभियुक्त सँग सँगै बसेर।
कार्की निकट नेता दुलाल ०७४ को प्रदेशसभा निर्वाचनमा सुनसरी ४ (१) बाट प्रतिस्पर्धी समेत थिए। तर,एमालेका जगदीशप्रसाद कुसियत सँग हारेका थिए। सुनसरीको महेन्द्रनगर घर भई इटहरी बस्दै आएका दुलालले १ करोड ३१ लाख ३२ हजार ५ सय रुपैयाँ बिनाधितो ऋण लिएका थिए। सहकारीमा उनले ५ लाख ४१ हजार ३० रुपैयाँ ब्याज बुझाउनुपर्ने देखिएको छ । सहकारीमा उनको १० हजार १४ रुपैयाँ बचत रहेको प्रहरीले दायर गरेको मुद्दामा उल्लेख छ। उक्त सहकारीमा दुलालको २ लाख ५६ हजार ८ सय रुपैयाँ बराबरको शेयर रहेको अभियोग पत्रमा उल्लेख छ।
अम्बे सहकारी ठगी मुद्दामा प्रहरीले दुलाल सहित ५६ जनाविरुद्ध सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। सहकारीका अध्यक्ष फडिन्द्र मगर पुर्पक्षका लागि कारागारमा छन्। दुलाल, देवेन्द्र बस्नेत, मीनकुमार मगर, भोजकुमार पुलामी मगर, किरण आले, हीराकुमारी मगर, बद्रीप्रसाद रेग्मी, नगेन्द्र गुरुङ, सुमन भण्डारी, अमित राई, लीला खड्का, अशोक राई, एकराज पहाडी, धनबहादुर मगर, धनुषा पराजुली (बस्नेत) भन्ने धनकुमारी पराजुली, दीपेश राई, क्षितिज राई र कोरवर्ट कुमार श्रेष्ठ पनि फरार छन् । त्यस्तै, सम्झना कार्की, रमेश पौडेल, टीकाराम भट्टराई, हरिबहादुर खड्का, मनोज अधिकारी, नवीन पौडेल, रामप्रवेश शाह, यशोदा पौडेल, रुद्रबहादुर पौडेल, पशुपति श्रेष्ठ, पूर्णबन्धु न्यौपाने, शान्ता पौडेल, हेमु श्रेष्ठ, गंगाचरण शाह तेली, सुनिता समाल मगर, विष्णुकुमार विक र लीला कार्की पनि ९ महिना देखि फरार छन् ।




.gif)





