काठमाडौं । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौं उपत्यकामा सर्वसाधारणको सहज आवागमनका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।
दसैँका बेला सार्वजनिक यातायातको उपलब्धता सहज बनाउन प्रहरीले कात्तिक ३ र ४ गते उपत्यकाका तीनवटा रुटमा निःशुल्क बस सञ्चालन गरेको हो । प्रहरीका अनुसार सेवाबाट सर्वसाधारणलाई आवतजावतमा सहजता पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल प्रहरीका अनुसार रुट नम्बर १ को बस नक्सालबाट सुरु भई बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी र जयनेपाल हल हुँदै पुनः नक्साल फर्किनेछ ।
त्यस्तै, रुट नम्बर २ को बस नक्सालबाट रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक हुँदै पुनः कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ र बालुवाटार हुँदै नक्साल फर्किनेछ ।
रुट नम्बर ३ को बस नक्सालबाट सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायण गोपाल चोक, चक्रपथ, सुकेधारा, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ र महाराजगन्ज हुँदै पुनः नक्साल फर्किने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार निःशुल्क बस सेवा पहिलो सिफ्टअन्तर्गत बुधबार दिउँसो ४ बजेदेखि तीनवटै रुटमा सञ्चालन भएको छ । टीकाको दिन बिहीबार पहिलो सिफ्ट बिहान ८ बजेदेखि र दोस्रो सिफ्ट दिउँसो ३ः३० बजेदेखि सञ्चालन हुने व्यवस्था गरिएको छ ।
दसैँका बेला सार्वजनिक यातायात कम उपलब्ध हुने अवस्थामा निःशुल्क बस सेवाले यात्रुलाई आवतजावतमा राहत पुर्याउने नेपाल प्रहरीले विश्वास लिएको छ ।




.gif)





