काठमाडौं । बडादसैंको दिन आज बुधबार देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका अधिकांश स्थानमा मौसम अनुकूल रहे पनि केही हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार बुधबार दिउँसो देशका हिमाली र पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागसहित देशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।
बुधबार राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ । देशका अन्य हिमाली र पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । तराईका केही स्थानमा भने हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।
यस्तै, दसैंको भोलिपल्ट बिहीबार दिउँसो पनि देशका हिमाली र पहाडी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान छ । तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ भने हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
दसैंका बेला यात्रा गर्ने तथा हिमाली र पहाडी क्षेत्रमा घुमफिर गर्ने सर्वसाधारणले स्थानीय मौसमको अवस्थाबारे जानकारी लिएर यात्रा गर्न उपयुक्त हुने देखिन्छ ।




.gif)





