काठमाडौँ । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। कम्पनीले आफ्ना सेयरधनीहरूका लागि १:१ को अनुपातमा (सतप्रतिशत) हकप्रद सेयर जारी गर्ने प्रक्रिया अघि बढाउँदै यो सम्झौता गरेको हो।एक कार्यक्रमका बिच दुई कम्पनीबीच सेयर निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा सिंगटी हाईड्रो इनर्जीका तर्फबाट प्रबन्ध सञ्चालक सुदिप खड्का र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।
कम्पनीको सोह्रौं वार्षिक साधारण सभाले चुक्ता पुँजीको १:१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो। सोही निर्णय अनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३ करोड ४ लाख ५० हजार कित्ता हकप्रद साधारण सेयर निष्काशन गर्न लागेको हो।हकप्रद सेयर निष्काशनबाट संकलन भएको पुँजीलाई कम्पनीले अन्य ठुला जलविद्युत आयोजनाहरूमा लगानी गर्ने योजना बनाएको छ। कम्पनीका प्रबन्ध सञ्चालक खड्काले दिएको जानकारी अनुसार उक्त रकम ६१.११ मेगावाट क्षमताको नारखोला जलविद्युत आयोजना र ८६.५९ मेगावाट क्षमताको लान्द्रुक मोदी जलविद्युत आयोजनामा लगानी गरिनेछ।




.gif)



