काठमाडौँ, २१ मंसिर। सरकारले चालु आर्थिक वर्षमा कृषकलाई सहज रुपमा रासायनिक मल उपलब्ध गराउन पाँच लाख ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य तय गरेको छ। यसको लागि रु २८ अर्ब ८२ करोड बजेट विनियोजन गरिएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, हालसम्म चार लाख ६५ हजार मेट्रिक टन मलको बोलपत्र भइसकेको छ। मंसिर महिनाको दोस्रो सातासम्म दुई लाख ६६ हजार ५१० मेट्रिक टन रासायनिक मल आपूर्तिको क्रममा रहेको छ।
आपूर्ति विवरण अनुसार, कृषि सामग्री कम्पनीले १ लाख ८० हजार ४९१ मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेसनले ८६ हजार १६ मेट्रिक टन मल आयात गरिरहेको छ। कृषि सामग्री कम्पनीले ८८ हजार २१३ मेट्रिक टन युरिया र ९२ हजार २७८ मेट्रिक टन डीएपी मल आयात गरिरहेको छ भने साल्ट ट्रेडिङ कर्पोरेसनले २४ हजार ४९८ मेट्रिक टन युरिया, ५३ हजार ७९५ मेट्रिक टन डीएपी र ७ हजार ७२५ मेट्रिक टन पोटास आयातको क्रममा रहेको जनाएको छ।
हाल गोदाममा ८६ हजार ३३३ मेट्रिक टन रासायनिक मल मौज्दात छ, जसमा कृषि सामग्री कम्पनीमा ५७ हजार ८१८ मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेसनमा २८ हजार ५१४ मेट्रिक टन उपलब्ध छ। आयातको क्रममा विभिन्न मार्गमा १ लाख २० हजार ५९७ मेट्रिक टन मल रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले खेतीपातीका लागि रासायनिक मल सहज रुपमा उपलब्ध गराउन सबै उपाय अवलम्बन गरिरहेको स्पष्ट पारेको छ।




.gif)





