कास्की । मंसिर १३, पोखरा महानगरपालिका–१९ पुरुञ्चौरस्थित चुरुङ्गा फाँटमा दोस्रो दाइँ महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। हरेक वर्ष रोपाइँ महोत्सव आयोजना हुँदै आएको पोखराले गत वर्षदेखि धान थन्क्याउने परम्परागत सीप प्रदर्शन र पर्यटन विकासको लक्ष्यसहित दाइँ महोत्सव सुरु गरेको हो। महोत्सवको आयोजना पोखरा पर्यटन परिषद्ले गरेको हो।
परम्परागत कृषि पद्धति संरक्षण गर्दै स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य सहित गरिएको कार्यक्रम पोखरा महानगरका मेयर धनराज आचार्यले कुन्युको जुरो खोलेर उद्घाटन गरेका थिए। उद्घाटनसँगै पाँच हल गोरुले दाइँ गरेर परम्परागत शैलीको प्रदर्शन गरिएको थियो।
महोत्सवमा उत्कृष्ट उत्पादन गर्ने किसानहरुलाई सम्मान गरिएको छ। पाँच सय मुरी, सय मुरी र ९८ मुरी धान उत्पादन गर्ने कृषकहरूलाई विशेष सम्मान प्रदान गरियो। साथै उत्कृष्ट गोरुपालक प्रतियोगिता, धान चुट्ने, परालको भारी बाध्ने, गुन्द्री बुन्ने लगायत विभिन्न परम्परागत प्रतियोगिताहरू सम्पन्न भए।
कार्यक्रममा सहभागी पाहुनाहरूलाई परम्परागत खाजा ‘सेल–तरकारी’ वितरण गरिएको आयोजकले जनाएको छ।




.gif)





