काठमाडौं । नेपालमा साना तथा घरेलु उद्योगहरुको संख्या ९ लाख भन्दा बढी भएपनि आर्थिक वर्ष २०८१–८२ मा नवीकरण गर्ने उद्योगहरुको संख्या एकदमै कम छ । दर्ता भएका ९ लाख उद्योगहरु गत आवमा ६ लाख उद्योगले मात्रै नवीकरण गरेका हुन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहकाअनुसार गत आवबाट घरेलु उद्योगहरुले एकदमै कमले मात्रै नवीकरण गरेको बताए ।
घरेलु तथा साना उद्योगमा पुरुषभन्दा बढी महिला अग्रसर रहेका छन् । दर्ता भएका घरेलु उद्योगमध्ये ६० प्रतिशत उद्योगहरु महिलाले नै संचालन गरेको अध्यक्ष सिंहको भनाइ छ । ‘नेपालमा अहिलेसम्म करिब ९ लाख उद्योगहरु दर्ता भएका छन् । तर धेरैले नवीकरण गरेको छैनन् । गत आवको तथ्यांक हेर्ने हो भने ६ लाख उद्योगहरुले मात्रै नवीकरण गरेको छ । तर त्यसमा सबै बन्द भएका नहुन सक्छन् । कति बन्द भए भन्ने यकिन तथ्यांक नभए पनि धेरै उद्योगहरु बन्द नै भएको अनुमान छ ।’ उनले भने ।
सरकारले महिलाहरुले खोलेको उद्योगमा १५ लाखसम्म बिना धितो कर्जाको सुविधा ल्याएसंगै महिलाहरुले दर्ता गरेको उद्योगको संख्या ह्वात्तै बढेको थियो । उद्योग विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०–८१ यस्ता उद्योगहरुको संख्या ६ लाख ८२ हजार (नवीकरण गरेको मात्रै) रहेको थियो । यस क्षेत्रमा २०४६ सालदेखि अहिलेसम्म ३८ लाख १४ हजार भन्दा बढीले रोजगारी पाएका छन् । घरेलु तथा साना उद्योगहरुमा १० खर्ब ५९ अर्ब ५० करोड लगानी रहेको छ ।




.gif)





