images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • नापतौल कार्यालयविरुद्ध ट्यांकर क्यालिब्रेसनमा अख्तियारमा ...

नापतौल कार्यालयविरुद्ध ट्यांकर क्यालिब्रेसनमा अख्तियारमा उजुरी

नापतौल कार्यालयविरुद्ध ट्यांकर क्यालिब्रेसनमा अख्तियारमा उजुरी

images
images
बिहिवार, कार्तिक १३ २०८२
बिहिवार, कार्तिक १३ २०८२
  • काठमाडौँ । रुपन्देहीको बुटवलस्थित गुणस्तर तथा नापतौल कार्यालय माथि पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको क्यालिब्रेसन प्रक्रिया नियम विपरीत गरी घुस असुलेको आरोप लाग्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

    images
    images

    उजुरी अनुसार कार्यालयले गत असोज २३, २४ र २५ गते नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालय, भलवारी डिपोबाट इन्धन ढुवानी गर्ने २७ वटा ट्यांकरको क्यालिब्रेसन गरेको थियो। उक्त क्यालिब्रेसनका क्रममा कार्यालय प्रमुख तिलक केसी सहितका कर्मचारीले प्रति ट्यांकर १२ देखि १५ हजार रुपैयाँसम्म घुस लिएर ट्यांकीको वास्तविक गहिराइ भन्दा बढी रहेको क्यालिब्रेसन रिपोर्ट तयार गरेको आरोप छ।

    क्यालिब्रेसन भनेको इन्धन ढुवानी ट्यांकीको आयतन सटीक मापन गर्ने प्रक्रिया हो। उजुरीमा भनिएको छ, “ट्यांकीको वास्तविक गहिराइ भन्दा बढी गहिराइ देखाएर कागजी प्रतिवेदन बनाइँदा पेट्रोलियम पदार्थको परिमाणमा हेरफेर हुने र यसबाट वार्षिक करोडौं रुपैयाँ बराबरको आर्थिक अनियमितता हुने गर्छ।”

    images
    images

    तीन दिनमा २७ वटा ट्यांकरको क्यालिब्रेसन गरिएको भए पनि कुन कुन ट्यांकरमा हेरफेर गरिएको हो भन्ने विवरण उजुरीमा खुलाइएको छैन।

    स्रोतका अनुसार असोज २३ गते विएनएस ढुवानी सेवा, कनोडिया ब्रदर्स, न्यू सिद्धार्थ डिजेल सेन्टर, गणेश ढुवानी सेवा र पौडेल यातायात प्रालिका पाँच ट्यांकरको, असोज २४ गते एक्सप्रेस परिवहन सेवा, त्रिनेत्र आयल सप्लायर्स, खर्क बहादुर ढुवानी सेवा लगायतका ६ ट्यांकरको र असोज २५ गते इश्वरी लजिष्टिक्स, मिलन ब्रदर्स, समिर फिलिङ सेन्टर, पुन ढुवानी सेवा, बालाजी पेट्रोलियम, जयप्रकाश ढुवानी सेवा लगायत १६ ट्यांकरको क्यालिब्रेसन गरिएको थियो।

    यसअघि पनि प्रमुख केसी माथि पेट्रोलपम्प नविकरणका लागि व्यवसायीहरूसँग घुस लिएको भन्दै अख्तियारमा उजुरी परेका थिए।

    तर, नापतौल कार्यालयका प्रमुख तिलक केसीले भने सबै आरोप अस्वीकार गरेका छन्। उनले भने, “नेपाल आयल निगम, ट्यांकर धनी र नापतौल कार्यालयको रोहवरमा क्यालिब्रेसन हुने भएकाले तलमाथि हुने सम्भावना छैन। अतिरिक्त रकम लिएको दाबी निराधार छ।”

    उनका अनुसार कार्यालयले ‘जिरो टोलरेन्स’ नीति अपनाएर क्यालिब्रेसन गरेको र सरकारी राजस्वबाहेक कुनै रकम नलिएको बताएका छन्।

    रुपन्देही, नवलपरासी, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी र प्यूठान जिल्लामा कार्यक्षेत्र रहेको उक्त कार्यालयमाथि निरन्तर अनियमितता र भ्रष्टाचारको आरोप लाग्दै आएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend