काठमाडौँ । विश्व हिन्दु परिषद् नेपालले पशुपतिनाथ मन्दिरको प्रवेश व्यवस्थालाई थप प्रभावकारी बनाउँदै सुरक्षा तथा अनुगमन प्रणाली कडा गर्न माग गरेको छ।परिषद्को मठ–मन्दिर, अर्चक, पुरोहित विभागले मंगलबार जारी गरेको विज्ञप्तिमा पशुपतिनाथ मन्दिरमा परम्परादेखि हिन्दु धर्मावलम्बीबाहेक अन्यलाई गर्भगृह तथा मूल मन्दिर क्षेत्रमा प्रवेश निषेध गरिएको उल्लेख छ। यस्तो व्यवस्था कुनै समुदायप्रति विभेद गर्ने उद्देश्यले नभई मन्दिरको धार्मिक परम्परा, आस्था, संस्कार र विशिष्ट पूजा पद्धतिको संरक्षणका लागि कायम गरिएको परिषद्को भनाइ छ।
तर पछिल्लो समय सार्वजनिक भएको एक भिडियोमा फरक दृश्य देखिएको भन्दै परिषद्ले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपालको संविधानले सुनिश्चित गरेको धार्मिक स्वतन्त्रता र सबै धर्म तथा समुदायप्रतिको सम्मानमा आफूहरू विश्वास गर्ने उल्लेख गर्दै परिषद्ले धार्मिक स्वतन्त्रताको अर्थ अर्को धर्मको विशिष्ट धार्मिक स्थलमा प्रचलित नियम र परम्परा उल्लङ्घन गर्ने अधिकार नभएको जनाएको छ।यस्तो घटनाले पशुपति क्षेत्र विकास कोषको सुरक्षा, अनुगमन तथा व्यवस्थापन प्रणालीमाथि प्रश्न उठाएको परिषद्को भनाइ छ।यस्ता घटना दोहोरिन नदिन मन्दिरको प्रवेश व्यवस्थालाई थप प्रभावकारी बनाउन, सुरक्षा तथा अनुगमन प्रणाली कडाइ गर्न तथा दोषी देखिएका व्यक्तिमाथि प्रचलित कानुन तथा नियमअनुसार कारबाही गर्न परिषद्ले माग गरेको छ।




.gif)



